शनिबार, बैशाख ८, २०८१

मंगलबारदेखि सुर्खेतमा निषेधाज्ञा जारीः कुनकुन सेवा कुन समयमा सञ्चालन हुन्छन ?

  
कर्णाली टाइम्स सोमवार, बैशाख १३, २०७८


सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा भोली (मंगलबार) राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको हो ।
भोली रातिदेखि वैशाख २१ बगते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रशासनले जारी गरेको सूचना अनुसार कोभिड–१९ को चेन ब्रेक गर्न, संक्रमणको जोखिम नियन्त्रण गर्न, रोकथाम र उपचारको लागि तयारी गर्न निषेधाज्ञा जारी गरिएको हो ।
यस अवधिमा अत्यावश्यक सेवा र सोको लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै प्रकारका सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँड्डुलमा निषेध गरिएको हुन्छ ।
कुनकुन सेवा कुन समयमा सञ्चालन हुन्छन् ?
निषेधाज्ञाको समयमा स्वास्थ्य, शान्ति सुरक्षा, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकका एटीएम सेवाहरु सञ्चालन गर्न मिल्छ ।
सञ्चालन गर्न मिल्ने सवारी साधनहरुमा एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला सरकारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरु, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु पर्छन् ।
यी कार्यमा संलग्न कर्मचारी तथा व्यक्तिहरुले अनिवार्य रुपमा परिचयपत्र बोकेको हुनुपर्छ । पोशाक उपलब्ध हुने व्यक्ति वा कर्मचारीले अनिवार्य पोशाक लगाउनुपर्छ । यस्तो कार्यमा सरिक हुने व्यक्ति वा कर्मचारीले मास्कको अनिवार्य प्रयोग, भौतिक दूरी कायम लगायतको जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ ।
निषेधाज्ञा अवधिमा दैनिक उपभोग्य वस्तुका पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाईनेछ ।