शुक्रबार, बैशाख ७, २०८१

असारदेखि कोरोना बीमा सकिने, संक्रमित हुनेले पनि पैसा नपाउने

  
कर्णाली टाइम्स बुधबार, बैशाख १५, २०७८


गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारदेखि सकिने भएको छ। १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा ‘पुल’ मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए।
यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन्। बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भुक्तानी दावी गर्न पाउने छैनन्।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘भेरिफाइड भएकाले बीमा रकम पाउँछन्, असार मसान्तपछि यो योजना स्वतः खारेज भएको मानिन्छ।’
नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले असार मसान्तपछि संक्रमित हुनेले कोरोना बीमा दावी गर्न नसक्ने बताए।
‘असार मसान्तसम्म संक्रमित हुनेले रकम पाउने छन्, त्यसपछि संक्रमित हुनेलाई भुक्तानी हुने छैन,’ पछिल्लो समय कोरोना बीमा गर्नेको संख्या एकदमै कम रहेको उनले बताए।
त्यस्तै आगामी असारपछि कुनै पनि किसिमका कोरोना बीमा योजना सञ्चालन पनि नहुने भएका छन्। ‘असारपछि कोरोना बीमाको सम्पूर्ण योजना समाप्त हुन्छ। त्यसपछि नयाँ कोरोना बीमाका योजना पनि आउँदैन,’ समितिका कार्यकारी निर्देशक पौडेलले भने।
उनका अनुसार कोरोना बीमा सम्बन्धी मापदण्डमा नै असारसम्म मात्रै लागू हुने गरी स्पष्ट व्यवस्था गरिएको छ। तर आवेदन दिएर प्रमाणित भइसकेकालाई भने क्रमिक रूपमा रकम भुक्तानी गर्दै लगिनेछ। हाल कोरोना बीमाको भुक्तानी दायित्व सरकारमा सरेको छ।
एक अर्ब निर्जीवन बीमा कम्पनीहरूले, एक अर्ब नेपाल पुनर्बीमा कम्पनीले, ५० करोड रूपैयाँ बीमकको महाविपत्ति पुलले, एक अर्ब बीमा समितिले खर्च बेहोरेका छन्।
साढे तीन अर्ब रूपैयाँ यसरी जुटे पनि बाँकी रकम नेपाल सरकारले बेहोर्ने गरी मापदण्ड तयार भएको थियो। तर सरकारले समयमै भुक्तानी नदिँदा सर्वसाधारणले दावी भुक्तानी पाउन ढिला भएको छ।
‘उहाँहरूको पनि प्रक्रिया होला, क्रमिक रूपमा रकम निकासा भएसँगै भुक्तानी पनि हुँदै जान्छ,’ पाण्डेले भने।
कोरोना बीमाको रकम पाउन ढिला भएको गुनासो बढेका बेला सरकारले एकमुष्ट रकम निकासा नगर्दा प्रक्रिया पूरा (भेरिफाइड) ले समेत रकम पाउन सकेका छैनन्। गत चैत ३० गतेसम्मको तथ्यांकअनुसार कागजात प्रमाणित भइसकेका ३१ हजारले अझै रकम पाउन सकेका छैनन्। उनीहरूलाई भुक्तानी गर्न करिब तीन अर्ब रूपैयाँ आवश्यक पर्छ।
हालसम्म ६० हजार ५ सय ८७ जनाले मात्रै कोरोना बीमाको रकम पाएका छन्। उनीहरूलाई कुल पाँच अर्ब ८५ करोड १५ लाख रूपैयाँ भुक्तानी भइसकेको समितिको तथ्यांक छ।
बीमा कम्पनीमा दावीका लागि आवेदन र कागजात परिसकेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट संक्रमण भए/नभएको पुष्टि गरेपछि मात्रै दावी भुक्तानी गरिन्छ।
हाल महाशाखामा १८ हजार बढी आवेदक पुष्टि हुने प्रक्रियामा छ। त्यस्तै परेका आवेदनमध्ये ६६६ जनालाई भुक्तानी नहुने भएको छ। दोहोरो बीमा गरेकाले एउटा आवेदनको मात्रै रकम पाउँछन्। त्यस्तै नागरिकतामा एउटा नाम हुने, परीक्षणका बेला नाम अर्कै लेखाउनेले पनि बीमा रकम पाउँदैनन्। तसर्थ केही आवेदन रद्द भएका बीमक संघले जनाएको छ।
हालसम्मको तथ्यांकअनुसार बीमाको लाभ लिइसकेका र कागजात प्रमाणित भइसकेका गरी कुल ९१ हजार लाभान्वित हुनेछन्। तर अहिले पनि आवेदन आउने गरेकाले असार मसान्तसम्म केही आवेदन थपिन सक्नेछन्।
‘कोरोना बीमाले बीमाबारे सचेतना बढाएको छ, बीमाको दायर बढाउन टेवा पनि पुग्यो,’ अध्यक्ष पाण्डेले भने, ‘यसबाट तत्काललाई बीमा कम्पनीलाई फाइदा नभए पनि दीर्घकालीन रूपमा फाइदा दिन्छ।’
हाल कोरोनाको दोस्रो लहरको संक्रमण त्रास बढिरहेको छ। दोस्रो लहर झन् जोखिम रहेको भन्दै विज्ञहरूले चेतावनी दिइरहेका छन्। तर दोस्रो लहर फैलिए पनि असारपछि कोरोना बीमा व्यवस्था नहुने बीमा समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए। सेतोपाटी