शुक्रबार, बैशाख ७, २०८१

६ महिनामा ७९० भ्रष्टाचारका मुद्दा

  
कर्णाली टाइम्स शनिबार, फागुन ३, २०७६


जगतदल जनाला वि.क
सुर्खेत, ३ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा ७९० उजुरी परेका छन् । विभिन्न जिल्लाबाट भ्रष्टाचारसम्बन्धी उजुरी दिनहुँ आयोगको कार्यालयमा दर्ता हुने गरेका छन् । कार्यालयको तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामध्ये भ्रष्टाचारसम्बन्धी धेरै उजुरी सुर्खेतबाट दर्ता हुन्छन् ।
यो आर्थिक बर्षको पुस मसान्तसम्म सुर्खेतबाट मात्र १५८ वटा उजुरी परेका छन् । जसमध्ये ७४ उजुरी फछ्र्यौट भएका छन् भने ८४ बाँकी रहेको कार्यालयले जनाएको छ । जिल्लागत उजुरीहरु प्रायः स्थानीय तहसँग नै सम्बन्धित हुने गरेको कार्यालयले जनाएको छ ।
यस्तै दैलेखबाट १४१, जाजरकोटबाट १०९, कालिकोटबाट ८७, जुम्लामा ६५ उजुरी कार्यालयमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार सल्यानबाट ५६, रुकुम पश्चिमबाट ५४ हुम्लाबाट ४६, मुगुबाट ४०, डोल्पाबाट ३४ वटा उजुरी परेका छन् ।
यसैगरी प्रदेशका मन्त्रालयसँग सम्बन्धित १७६ उजुरी आयोगमा परेको सापकोटाले जानकारी दिए । तिमध्ये ४० उजुरी फछर्यौट भईसकेका छन् भने ९६ उजुरी बाँकी रहेको उनले बताए ।
तथ्याङ्क अनुसासर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित ९२, सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित २२, भौतिक पुर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित १२, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित ९, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित १ उजुरी आयोगमा दर्ता भएका छन् ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा संघीय मन्त्रालयसँग सम्बन्धित २६२ उजुरी दर्ता भएको सूचना अधिकारी सापकोटाले जानकारी दिए । तिमध्ये ८६ उजुरी फछर्यौट गरिएका छन् भने ११७ उजुरी बाँकी रहेका छन् । सबैभन्दा बढी उजुरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित हुने गरेका छन् ।