शनिबार, बैशाख १५, २०८१

आइतबारको प्रदेश सभा वैठक पनि अवरुद्ध

  
कर्णाली टाइम्स आइतवार, असार २७, २०७८


सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सभाको वैठक फेरि अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमालेले सोमबार दिउँसो बसेको वैठक कार्यसूचि प्रवेश गर्न नदिएरै अवरुद्ध गरेको हो ।
बजेट केन्द्रित हुने संसद् वैठकहरु बजेट प्रस्तुत भएयता एमालेले लगातार अवरोध गर्दै आएको छ । आफ्ना राजनीति मागहरु सरकार वा संसदले पूरा गर्नुपर्ने माग राख्दै महत्वपूर्ण वैठकहरु एमालेले अवरुद्ध गर्दै आएको छ ।
एमालेको माग भनेको कर्णालीमा फ्लोर क्रस गरेपछि कारबाहीमा परेका सांसदहरु सर्वोच्चको पुनर्बहाली गराउने अन्तरिम आदेशसँगै प्रतिपक्षीको सिटमा बस्नुपर्ने माग छ ।
वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका सांसद्हरु प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मर बहादुर थापा र नन्दसिंह बुढालाई पार्टीले निलम्बन गरेको थियो ।
जेठ २७ गते सर्वोच्च अदालतले उनीहरुलाई पुनर्बहाली गर्नुपर्ने फैसलासहित अन्तरिम आदेश दिएका थियो । त्यसयता फ्लोर क्रस गरी मन्त्री बनेकाहरुलाई राजीनामा दिएर प्रतिपक्षीको सिटमा बस्न संसदीय दलले निर्देशन दिएको थियो ।
तर माधव नेपाल पक्षका ती सांसदहरुले मानिरहेका छैनन् । आफ्ना मुद्दाहरु पूरा गर्न सरकारले पनि सहयोग गर्नुपर्ने एमालेले बताएको छ ।
‘हामी रहरले भन्दा पनि बाध्यताले बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल हुने वैठक अवरुद्ध गरिरहेका छौं, हामी यहाँ संसद अवरुद्ध गरिरहेका छौं । प्रदेश सरकार हेलिकप्टर चढेर संघीय सरकारले नदिएको अधिकार प्रयोग गरी सीमा क्षेत्र अनुगमन गर्दै छ,’ एमाले सांसद् पदम बहादुर रोकायाले भने, ‘जबसम्म एमालेको संसदीय दलले उठाएका मागहरु पूरा हुँदैनन् तबसम्म यो वैठक चल्दैन ।’
असार १ गते प्रदेश सरकारले ०७८/७९ को बजेट ल्याईसकेको छ । साउन १ गतेभित्र पारित भईसक्नुपर्ने बजेट एमालेले नियमित वैठक अवरुद्ध गर्ने गरेपछि छलफल समेत सुरु भएको छैन ।