शुक्रबार, बैशाख १४, २०८१

छेडागाडमा शिक्षाा संवाद, शैक्षिक गुणस्तर बढाउन पैरवी गर्नुपर्नेमा जोड

  
कर्णाली टाइम्स मंगलबार, साउन ५, २०७८

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिकालाई केन्द्रित गरी सोमबार ‘शिक्षा संवाद’ गरिएको छ । नगरभित्र शिक्षाको अवस्था, चुनौती र सम्भावनाका विषयमा छलफल तथा सरोकारवालाबाट जानकारी गराउन शिक्षा संवादको आयोजना गरिएको हो । शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा संवादको आयोजना गरिएको हो ।
सोमबार भर्चुअल (जुम) माध्यमबाट आयोजना गरिएको संवादमा नगरपालिकाको शिक्षाको अवस्था, नगरमा शिक्षाका चुनौती, शिक्षाको गुणस्तर वृद्धि गर्न अभिभावक वा समुदायको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो ।
नगर प्रमुख लालबहादुर महतारा, शिक्षा शाखा प्रमुख खड्क केसी, नगरपालिका शिक्षक महासंघका अध्यक्ष जयबहादुर थापा, नारायण मावि छेडागाडका विद्यालय व्यवस्थापन समिति सदस्य लाली आरसी वक्ताको रुपमा रहेका थिए ।
शिक्षा शाखा प्रमुख केसीले नगरभित्रका शैक्षिक संरचनाहरुलाई दिगो बनाउन नगरपालिकाले आफ्नो तर्फबाट दायित्व बहन गरेको जानकारी दिए । उनले यसका लागि प्रत्येक आर्थिक बर्ष बजेट विनियोजन गर्ने गरिएको बताए । उनले नगरपालिकाभित्र अहिले १०७ वटा बालविकास केन्द्र र ८९ वटा विद्यालयहरु रहेको जानकारी गराउँदै शिक्षकको दरबन्दी अपुग रहेको बताए । नगरपालिकाभित्रको शैक्षिक गुणस्तर सुधार्न निरन्तर अभ्यास गरिएको जनाए ।
शिक्षक महासंघ छेडागाड नगरपालिकाका अध्यक्ष जयबहादुर थापाले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप अझ पनि कायमै रहेको बताए ।
यस्तै शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोटका निमित्त प्रमुख तिलक भट्टराईले प्रविधिको सहज पहुँच नहुँदा कोभिड महामारीको समयमा जिल्लाको शैक्षिक क्षेत्रमा प्रभाव पर्ने गरेको बताए । उनले कोभिडका बेला अनलाइन माध्यमबाट कक्षा सञ्चालनको अभ्यास गरिएको भए पनि ईन्टरनेटको पहुँच नहुँदा सफल हुन नसकेको बताए ।
नारायण मावि विद्यालय व्यवस्थापन समितका सदस्य लाली आरसीले नगरपालिकामा अवसर र सहयात्रा कार्यक्रम गरी नगरको शिक्षा क्षेत्रमा पैरवी गरिरहेको सेभ द चिल्ड्रेनको उद्देश्यअनुसार स्थानीय तहले पनि काम गर्न सकेमा शैक्षिक गुणस्तर बढ्नेमा जोड दिइन् ।
सेभ द चिल्ड्रेनका शिक्षा संयोजक आत्माराम भट्टराईले भौतिक संरचनाको निर्माणमात्र शिक्षाको गुणस्तर बढाउने सूचक नभएको भन्दै साझेदारी, पैरवी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, राजनीतिक दलको इच्छाशक्तिले गुणस्तर अभिवृद्धि गर्न सकिने बताए । नगरपालिकामा शैक्षिक क्षेत्रमा पैरवी गर्दै सेभ द चिल्ड्रेन भौतिक संरचना भन्दा पनि शैक्षिक क्रियाकलापमा जोड दिइएको जनाए ।
सेभ द चिल्ड्रेनको सहयोगमा छेडागाड नगरपालिकाभित्रका ७ जना अपांगता भएका बालवालिकाहरुका लागि घरमै शिक्षक राखेर पढ्ने वातावरण मिलाइएको समेत जानकारी दिए ।
नगरभित्र शिक्षाको क्षेत्रमा चुनौतीसँगै सम्भावनाहरु पनि रहेकाले चुनौतीलाई सामाना गर्दै लक्ष्यमा पुग्न सबैको ईच्छाशक्ति हुनुपर्नेमा सहभागी तथा वक्ताहरुले जोड् दिएका थिए ।
संवादमा नगरपालिकाका जनप्रतिनिधि, शिक्षासँग सम्बन्धित प्रमुख, शिक्षक महासंघका पदाधिकारी, जिल्लास्थित शिक्षासँग सम्बन्धित प्रमुख तथा प्रतिनिधि, सेभ द चिल्ड्रेनका प्रतिनिधि, पत्रकारलगायत ४० जनाको सहभागिता रहेको थियो ।