शुक्रबार, बैशाख ७, २०८१

सहचालकको भर पर्दा जाजरकोटमा जीप दुर्घटना

  
कर्णाली टाइम्स सोमवार, साउन ११, २०७८


सुर्खेत । आइतबार जाजरकोटको बारेकोट गाउँपालिकामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जीपमा सवार ६ जनामध्ये अरु चारजना घाईते भएका छन् ।
घाईतेमध्ये दुईजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । बाँकी दुईजनामध्ये एकजनाको नलगाड नगरपालिकाको दल्लीस्थित स्वास्थ्यचौकीमा उपचार भईरहेको छ । एकजना भने सामान्य अवस्थामा भएकाले घटना स्थलबाटै घर फर्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मृत्यु हुनेमा बारेकोट गाउँपालिका–८ की ५५ बर्षीया लक्ष्मी सिंह रहेकी छिन् ।
बारेकोट गाउँपालिका–८ सेपुखोलबाट नलगाड नगरपालिका–५ खारातर्फ आईरहेको जीप आईतबार बेलुका पौने सात बजे दुर्घटनामा परेको हो । उक्त जीप दुर्घटनामा पर्नुको कारण चालक सहचालकको भर पर्नु रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए ।
उनका अनुसार ग १ ज ४९५५ नम्बरको उक्त जीप अन्य बेला चालक राजेश सिंहले चलाउने गरेका थिए । दुर्घटनाको समयमा भने जीपमा काम गर्ने सहचालक बलबहादुर खत्रीलाई चलाउन दिईएको थियो ।
दुर्घटनापछि जीपका मुख्य चालक सिंह फरार छन् । ‘अन्य बेला चालक आफैंले चलाउने गरेका रहेछन्, दुर्घटनाको बेला भने सहचालकले चलाएको खुलेको छ,’ ईन्स्पेक्टर पाण्डेले भने, ‘घटनापछि चालक फरार छन्, सहचालक घाईते भएकाले कोहलपुरमा उपचार भईरहेको छ ।’
सहचालकको उपचार प्रहरीको प्रत्यक्ष निगरानीमा भईरहेको र चालकको खोजीकार्य जारी रहेको उनले बताए ।