बिहीबार, बैशाख १३, २०८१

विष्टको सहयोगले खुल्यो पञ्ची नेपालीको आँखा

  
कर्णाली टाइम्स बुधबार, साउन १३, २०७८


सुर्खेत। तीन बर्ष अघि मोतीयाविन्दू भएपछि बाँयाँ आँखाको उपचार गराएकी सुर्खेतको वीरेन्द्रनगर–८ की पञ्ची नेपालीको दाँयाँ आँखा भने अहिलेसम्म पनि उस्तै थियो । आर्थिक अवस्था कमजोर भएकी उनले आफ्नो धमर्राउँदो आँखाको उपचार तीन बर्षसम्म गराउन सकिनन् ।

सुर्खेतका युवा समाजसेवी तथा प्रगतिशिल खेलकुद संघ कर्णाली प्रदेश अध्यक्ष हरि विष्टको सहयोगमा उनको दाँयाँ आँखाको तीन बर्षपछि उपचार भएको छ । बुधवार आँखा अस्पतालमा लिएर विष्टले उनको आँखाको जाली निकाल्न सहयोग गरेका हुन् ।

‘गिट्टी कुटेर परिवारको छाक टार्नुपर्ने अवस्था छ, यो आँखाको उपचार गराउन थोरै पैसा लाग्ने भएपनि जुटाउनै सकिएन,’ पञ्ची नेपालीले भनिन्, ‘अघि देखि नै उहाँले मेरो आँखाको उपचार गराउन सहयोग गर्छु भन्नुभएको थियो, आज बल्ल उपचार भयो ।’

उनको आँखाको उपचारपछि अब नियमित फ्लोअप गर्न चाहिने आर्थिक सहयोग पनि विष्टले नै गरिदिने भएका छन् ।

‘पोहर नै उहाँको आँखाको उपचार गर्न सहयोग गर्छु भनेको थिएँ, तर विभिन्न कारणले सकिएन,’ विष्टले भने, ‘अहिले समय मिलाएर उहाँलाई सहयोग गरेको छु, उहाँको आँखाको लागि अस्पतालमा गर्नुपर्ने नियमित फ्लोअपमा पनि मंैले नै सहयोग गरिदिन्छु ।’

६२ बर्षकी पञ्ची नेपालीका श्रीमानको २५ बर्षअघि मृत्यु भईसकेको छ । छोराबुहारी र नातीनातिनासँग उनी बस्दै आएकी छिन् ।