शुक्रबार, बैशाख ७, २०८१

मुगुमा बस दुर्घटना: मृतकको संख्या ३२ पुग्यो

  
कर्णाली टाइम्स मंगलबार, असोज २६, २०७८


सुर्खेत। मुगुमा भएकाे बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार २४ जनाको घटना स्थलमै मृत्यु भएको हो भने बाँकी ८ जनाकाे अस्पताल लिनेक्रममा बाटोमा मृत्यु भएको हो ।
छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित मृतकको संख्या ३२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ४ जनाको सदरमुकामस्थित विमानस्थलमा लैजाँदै गर्दा र ४ जनाको उपचारका लागि नेपालगञ्ज पुर्याईसकेपछि मृत्यु भएको हो ।
घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्। नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको उनले बताए।
घाईतेहरुलाई समिट एअर र नेपाली सेनाको हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको हो ।
एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको बुझिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए।
‘मृतक, घाइते र गाडीबाट हाम फालेर वा ओर्लिएर बचेकाहरूको संख्या हेर्ने हो भने गाडीमा ४९ जना सवार रहेको देखिएको छ, यद्यपि घटनास्थलको भिरमा प्रहरीले मानिसको खोजी गरिरहेको छ,’ मेयर शाहीले भने।
सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।