शुक्रबार, बैशाख ७, २०८१

समाजवादीको पक्षमा उत्साहपूर्ण समर्थन छ : अध्यक्ष नेपाल

  
कर्णाली टाइम्स बिहीबार, मंसिर ९, २०७८


सुर्खेत। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी नयाँ क्रान्तिका साथ कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनतर्फ लाग्ने बताएका छन्। पार्टीको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका नेपालले पत्रकारहरुसँगको कुराकानीमा पुराना विकृति, विसंगतिलाई हटाएर आफ्नो पार्टी अघि बढ्ने बताएका छन्।
कम्युनिष्ट पार्टी विकृति र विसंगतिकै कारण सफल हुन नसकेको बताउँदै उनले समाजवादी ती कुरालाई त्यागेर अगाडि बढ्ने उनले बताए। नेताप्रधान भएर कम्युनिष्ट पार्टी पछाडि परेको अध्यक्ष नेपालले बताए।
देशमा समाजवादीको पक्षमा उत्रिएको जनसागरले आफू उत्साहित भएको उनले बताए। आफूहरुको राजनीतिक क्रान्तिको उद्देश्य पूरा भएपनि सामाजिक, आर्थिक क्रान्ति पूरा नभएको भन्दै उनले नेपाली जनताको हित र कल्याणमा काम गर्ने बताए।
समाजवादीलाई भएको समर्थन देखेर विद्रोही दल तथा नेताहरुलाई ईष्य्रा गर्न थालेको उनले बताए। ‘हामीप्रतिको समर्थन देखेर कतिपय मानिसहरु डाहा गरिरहेका छन्, जथाभावी पनि बकिरहेका छन्,’ नेपालले भने, ‘हामी यसको जवाफ उही तरिकाले दिन चाहँदैनौं, बरु फूल छर्न चाहन्छौं। सदबुद्धि छाओस् भनेर।’
१५ गतेदेखि देशभर समाजवादी पार्टीले देशभर स्टिकर वितरण वितरण गरी प्रचारप्रसारसँगै पार्टीको लागि चन्दा संकलन गर्ने नेपालले बताए।
स्टिकरमा महिला हिंसा, घरेलु हिंसालगायतका अहिलेका समसामयिक विषयहरु समावेश गरिने उनले बताए।
अध्यक्ष नेपालले अरु पार्टीहरुसँग पनि कम्युनिष्ट आन्दोलनलाई सफल बनाउनेबारेमा छलफल भईरहेको बताएका छन्।