शुक्रबार, बैशाख १४, २०८१

प्रत्येक महिनाको प्रगति विवरण पठाउन जलस्रोत मन्त्री सिंहको कार्यालय प्रमुखलाई निर्देशन

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ६, २०७८


सुर्खेत। कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले मन्त्रालय मातहतका कार्यालयहरुबाट प्रत्येक महिना प्रगति विवरण पठाउन प्रमुखहरुलाई निर्देशन दिएका छन्। बजेट खर्च न्युन भएपछि उनले कार्यालय प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन्।
प्रदेशका १० वटै जिल्लाका कार्यालय प्रमुखसँग शुक्रबार छलफल गर्दै मन्त्री सिंहले बजेट खर्चको अवस्था, खर्च हुन नसक्नुको कारणबारे प्रत्येक महिना विवरण पठाउन आग्रह गरेका हुन्।
चालु आर्थिक बर्षको मन्त्रालयको बजेटमध्ये हालसम्म सात प्रतिशत मात्र खर्च भएको छ।
मन्त्री सिंहले कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमति अनुसार १५ लाख भन्दा मुनिका साना आयोजनाहरु कार्यान्वयनमा नलैजान पनि कार्यालय प्रमुखहरुलाई आग्रह गरेका छन्।
कुनै पनि विकास निर्माणका काममा बाधा आईपरे आफूलाई सिँधै सम्पर्क गर्न उनले आग्रह गरे। उनले भने, ‘कतिपय विकास निर्माणका काम गर्दा बाधाअड्चन आउँछन्, यस्तो समस्या आयो भने मलाई वा मन्त्रालयलाई सिँधै सम्पर्क गरेर जानकारी गराउनुहोस्।’