बिहीबार, बैशाख ६, २०८१

एमालेले गर्यो कर्णाली प्रदेश सभाको वैठक अवरुद्ध

  
कर्णाली टाइम्स सोमवार, फागुन १६, २०७८


सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेश सभाको वैठक अवरुद्ध गरेको छ। सोमबार बसेको नवौं अधिवेशनको दशौं वैठक प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गरेको हो।
एमाले संसदीय दल र सरकारबीच भएका सम्झौता कार्यान्वयन नभएको भन्दै एमालेले आजको वैठक अवरुद्ध गरेको हो। सम्झौत कार्यान्वयनको चरणमा नगएसम्म वैठक चल्न नदिने एमालेले बताएको छ।
एमाले प्रदेश सभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले सत्तापक्ष र प्रतिपक्षबीच भएको सहमतिको बारेमा लिखित प्रतिवद्धता नआएकाले संसदको प्रक्रिया अगाडि बढ्न नदिने बताए।
प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले सत्ता पक्षले प्रतिपक्षीसँग गरेको सम्झौतालाई बेवास्ता गरेकाले सरकारको ध्यानाकर्षण गराउन संसदमा अवरोध गरिएको बताएका छन्।
कर्णाली प्रदेश सरकार प्रमुख प्रतिपक्षी दल एमालेबीच माघ १८ गते सात बुँदे सहमति भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को बजेट विनियोजनका क्रममा परेका १५ लाखमुनिका टुक्रे योजना कार्यान्वयन नगर्ने, आगामी दिनमा पनि सोही मापदण्डका आधारमा योजना तर्जुमा गर्ने, मुख्यमनत्री रोजगार कार्यक्रम सञ्चालनमा विगतको कार्यविधिमा रहेको स्थानीय तहको भूमिका र प्रदेशसभा सदस्यको भूमिकालाई कायम गरी कार्यविधिलाई सुधार गर्ने, हाल कर्णाली प्रदेशमा निर्वाचित सदस्यमध्ये पाँचवटा निर्वाचन क्षेत्रमा सांसद रिक्त रहेकाले ती क्षेत्रहरुमा पूर्वाधार विकास कार्यक्रम प्रमुख प्रतिपक्ष दलको सल्लाहअनुसार अगाडि बढाउने लगायतका सम्झौता भएको थियो।
सम्झौता पत्रमा मुख्यमन्त्री, सभामुख, प्रतिपक्षी दलका नेता र सत्तारुढ दलका नेताहरुले पनि हस्ताक्ष गरेका थिए।