शनिबार, बैशाख ८, २०८१

एमसीसीमा गरिएको व्याख्यात्मक घोषणाको महत्व अझ बढेको छः प्रचण्ड

  
कर्णाली टाइम्स शुक्रबार, फागुन २७, २०७८


सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामा आफूहरुले गरेको व्याख्यात्मक टिप्पणीको महत्व बढेको बताएका छन्। एमसीसीले नै यसलाई समर्थन गरेकाले यसको व्याख्यात्मक घोषणाको महत्व बढेको बताए।
पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन सुर्खेत आएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै एमसीसीका कारण चर्चामा आएको गठबन्धन अहिले निर्वाचनसम्मका लागि सुदृढ बन्दै गएको बताए। निर्वाचनभन्दा अझ परसम्म पनि गठबन्धन जाने विश्वास उनले व्यक्त गरे।
उनले आफूले अर्थ मन्त्रालय र प्रधानमन्त्रीलाई एमसीसीबाट औपचारिक पत्र प्राप्त गर्ने र जवाफ पठाउने प्रक्रिया सुरु गर्न भनेको बताए।
उनले एमसीसीमा आफूहरुको व्याख्यात्मक घोषणाले गठबन्धनलाई निरन्तरता दिन सहयोग पुगेको बताए। ‘एमसिसीका कारण माओवादी नै विभाजन हुने हो की भन्ने पनि प्रश्न उठेको थियो, अझ गठबन्धनको झनै बढी चर्चा थियो,’ प्रचण्डले भने, ‘एमसिसी पारित गर्ने विषयमा पार्टीभित्र उठेका केही मतभेदहरु पनि एउटै फोरमबाट निश्कर्षमा पुग्नेगरी हामी अगाडि बढेका छौं, अब गठबन्धनले पनि निरन्तरता पाएको छ।’
एमसीसी परियोजना अनुमोदन गर्ने सन्दर्भमा गठबन्धनकै भविष्य के हुने हो भन्ने चर्चा चलिरहेका बेला सकारात्मक समाधान गर्न आफूहरु सफल भएको उनले बताए।
‘एमसीसीबारे समस्याले देशमा गम्भीर प्रकृतिको असर पर्छ की भन्ने जुन चिन्ता सर्वत्र छाएको थियो, हामीले अन्ततः सकारात्मक तरिकाले समाधान निकाल्यौं, यसले अहिलेको हाम्रो गठबन्धन जोगिएको छ।’ उनले भने।
उनले यसअघि एमालेसँग गरिएको एकता टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति हावी भएको बताए। एमालेसँग कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरी देशको राजनीतिलाई स्थायित्व दिने उद्देश्यले एकता गरिएपनि पार्टीको मुल नेतृत्वले नै संविधानमाथि घात गर्न थालेपछि माओवादी त्यसको विपक्षमा उभिएको उनले बताए।