
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको अध्यक्षतामा मंगलबार दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको हो।
समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पौडेलले जिम्मेवार नागरिक उत्पादन गर्ने महत्वपूर्ण शैक्षिक थलोका रुपमा विकास गर्न मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरुलाई आग्रह गरे।
शिक्षा क्षेत्रमा सरकारले लिएको लक्ष्य संविधानमा भएकौ शैक्षिक मर्मलाई ख्याल गरी अगाडि बढ्ने उनले आग्रह गरे।
समाराहको प्रमुख अतिथि रहेको भारतका कैलाश सत्यार्थीले शिक्षा व्यक्तिलाई आत्मनिर्भर बनाउने मात्र नभई आफूलाई सुरक्षित बनाउने एक हतियारका रुपमा रहेको बताए।
सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता सत्यार्थीले आफूले प्राप्त गरेको शिक्षालाई समाजको जिम्मेवारीका रुपमा लिन विद्यार्थीहरुलाई आग्रह गरे।
दोस्रो दीक्षान्त समारोहबाट विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको छ भने स्नातक तहका २० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरिएको छ।
समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तिर्ण २ जना र स्नातक तह उत्तिर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिएको छ।
विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहको अवसरमा दीक्षित गरिएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट पहिलो विद्यावारिधी उपाधि लिएका एकजनालाई पनि दोस्रो दीक्षान्त समारोहबात दीक्षित गरिएको छ।
यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो दोस्रो दीक्षान्त समारोह हो। २०७४ असार १९ गते पहिलो दीक्षान्त समारोह भएको थियो।
कर्णाली टाइम्स
मंगलबार, बैशाख ६, २०७९
