बुधबार, बैशाख ५, २०८१

वीरेन्द्रनगरमा कांग्रेस हार्नुका ४ कारण

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ ८, २०७९

सुर्खेत । यस पटकको निर्वाचनमा प्रदेश राजधानीसमेत रहेको कर्णालीको सबैभन्दा ठूलो स्थानीय तह वीरेन्द्रनगर नगरपालिका सबैभन्दा बढी चासो र प्रतिष्ठाको केन्द्र बन्यो । २०७४ को निर्वाचनमा एक्लै लडेर पनि नेतृत्व जितेको वीरेन्द्रनगरमा कांग्रेस इतिहास दोहोर्‍याउन चाहन्थ्यो भने एमाले अघिल्लोपटक गुमेको विरासत फर्काउन । एमालेले २०४९ र २०५४ मा जितेको वीरेन्द्रनगरलाई २०७४ मा गुमाएको थियो ।

चुनावमा जित्नेको इतिहास लेखिन्छ । जितको कारण गौण बन्ने गर्छ । हार्नेको हकमा भने हारका कारणहरु केस्रा–केस्रा केलाइन्छन् । हरेक निर्वाचनको यो आम–प्रवृत्ति हो । वीरेन्द्रनगरमा पनि चुनाव हारेपछि यसका कारण केलाउन थालिएको छ । कांग्रेसको लागि यो हार अप्रत्यासित र अस्वाभाविक हो । २०७४ मा एक्लै जितेको वीरेन्द्रनगरमा यसपटक तेस्रो ठूलो शक्ति माओवादी केन्द्रसँग चुनावी तालमेल भएकोले कांग्रेस नतिजा आफ्नो पक्षमा पर्नेमा ढुक्कजस्तै देखिन्थ्यो । तर कर्णाली प्रदेश र देशभर पहिलो भएको कांग्रेसले वीरेन्द्रनगर गुमायो । कर्णाली टाइम्सले वीरेन्द्रनगरमा चुनावी हारका प्रमुख ४ ‘फ्याक्टर’ केलाएको छ ।

पहिलो– थानी फ्याक्टर
पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी समूहले पार्टीको १४ औं महाधिवेशनबाट जिल्लाको संस्थापन हैसियत गुमायो । महाधिवेशनको क्रममा जन्मेको तिक्ततापूर्ण सम्बन्ध घट्नुको साटो झन् बढेर गयो । स्थानीय तह निर्वाचनमा उसले उम्मेदवारीमा जिल्लाभर ४० प्रतिशत हिस्सा माग्यो । तर थानी समूह र पार्टीको संस्थापन समूहबीच भागवण्डाको लागि एक ठाउँ बसेर संवादसमेत हुने वातावरण बनेन । यसले गर्दा थानी समूहको माग सुनुवाइ भएन । उक्त समूहले जिल्लाभर आफ्नो तर्फबाट उम्मेदवारी नदिने रणनीति बनायो । मनोनयनको अन्तिम दिन महामन्त्री गगन थापाले फोन गरेर थानी समूहका नेता नारायणकुमार कोइरालालाई वीरेन्द्रनगरको मेयरमा मनोनयन दर्ता गर्नको लागि आग्रह गरे पनि उनले उम्मेदवारी दिएनन् । त्यसपछि उम्मेदवार बने– नगर सभापतिसमेत रहेका संस्थापन समूहका उपेन्द्र खड्का । तर खड्काको पक्षमा थानी समूह खुलेर लागेन । केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सहभागी वीरेन्द्रनगरको चुनावी सभामा उपस्थित हुन नेता थानीले अस्वीकार गरे । बरु उनी त्यो दिन बराहतालतिर लागे । त्यतिमात्र होइन, खड्का सहभागी हुने भएपछि उनी बाबियाचौरमा आयोजित कार्यक्रममा पनि गएनन् । यसले चुनावको मुखमा कांग्रेसभित्र एकता नरहेको सन्देश प्रवाह गर्‍यो । कांग्रेसी कार्यकर्ता र मतदातालाई हारको मनोविज्ञानले घेर्‍यो । चुनावी परिणाममा त त्यो प्रकट नै भयो । थानी समूहमाथि अन्तरघात गरेको आरोप लागेको छ । वडा नं. १० को कार्य समितिले त पूर्वजिल्ला सभापति कमलराज रेग्मीसहित ६ जनालाई कारबाहीको सिफारिस गरेको छ । भोलि अन्तरघातका आरोपहरु पुष्टि होलान्–नहोलान् त्यो बेग्लै कुरा भयो, तर अहिलेलाई वीरेन्द्रनगरमा कांग्रेस हार्नुको सबैभन्दा ठूलो अपजस थानी समूहले खेपिरहेको छ । उम्मेदवारी नदिने निर्णय, एकताको सन्देश प्रवाह गर्ने चुनावी सभा बहिस्कार, प्रचार अभियानमा निस्क्रियताजस्ता कारणले आरोपलाई थप बल पुर्‍याएको छ ।

दोस्रो– राप्रपा फ्याक्टर
राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी मेयरमा उठ्नु कांग्रेस हार्नुको दोस्रो महत्वपूर्ण कारण हो । कांग्रेसको असन्तुष्ट समूहले राप्रपालाई मतदान गरेको संस्थापन पक्षको आरोप छ । राप्रपाका मेयर उम्मेदवारले पाएको मतले पनि उक्त आरोपलाई बल पुर्‍याएको छ । २०७४ को निर्वाचनमा मेयरमा करिब साढे ५ सय मत पाएको राप्रपाले यसपटक १० हजार मत कटाएको छ । यो मत राप्रपाको खास जनमत होइन, न त चर्चा गरिए झैं मेयरका उम्मेदवार मुकुन्दश्याम गिरीको लोकप्रियताको उपज हो । गिरीले प्राप्त गरेकोमध्ये करिब ५० प्रतिशत मत असन्तुष्ट कांग्रेसीको मत हो, जसलाई पाउनको लागि उनले कुनै मिहिनेत गर्नु परेन । कांग्रेसका मेयर उम्मेदवार खड्कालाई हराउन असन्तुष्टहरुले स्वस्फूर्त रुपमा मतदान गरे । गिरीको ठाउँमा राप्रपाको अन्य कुनै व्यक्ति उम्मेदवार भइदिएको भए कांग्रेसको असन्तुष्ट समूहलाई मतदान गर्न कठिन हुन्थ्यो । किनभने ती उम्मेदवारको अस्वाभाविक रुपमा बढी मत आउँदा कांग्रेसको असन्तुष्ट मत त्यता गएको सहजै अनुमान गर्न सकिन्थ्यो । तर गिरीले जति धेरै मत ल्याए पनि उनको लोकप्रियताको कारण आयो भन्ने अवस्था रह्यो । गिरीले केही मत उनको व्यक्तित्व र सम्बन्धको कारण पनि पाएका छन् । खाँटी कांग्रेसी भनेर चिनिने दशनामी समाजका सदस्यले सतहमै सुनिने गरी गिरीको पक्षमा भोट मागेका थिए । त्यसैले राप्रपाको प्रभावशाली उम्मेदवारीले कांग्रेसलाई नराम्रो धक्का लाग्न पुग्यो ।

तेस्रो – उम्मेदवारी ‘स्टन्ट’
कांग्रेसमा मेयर उम्मेदवारीको सन्दर्भमा भएको ‘स्टन्ट’ ले पनि सुरुदेखि नै माहोल बिगार्ने काम गर्‍यो । कांग्रेसमा मेयर उम्मेदवार हुनको लागि वीरेन्द्रनगरमा खड्काभन्दा सिनियर र प्रभावशाली एक–से–एक नेताहरु थिए । तर खड्का स्वयंले नगर कार्य समितिबाट आफूसहित हरि विष्ट र चाँदनी ढकालको नाम सिफारिस गरे । यी नामहरु अनपेक्षितमात्र थिएनन्, ‘ब्याक डेट’ मा माइन्यूट गरिएका थिए । जिल्ला कार्य समितिले राय–सुझावसहित नारायण कोइराला, गोविन्द कोइराला, नारायण सापकोटा लगायतको नाम समावेश गरेर पठायो । तर नारायण कोइरालाले सिफारिस अस्वीकार गर्दै उम्मेदवार नबन्ने घोषणा गरे । त्यसमाथि कांग्रेसको कर्णाली प्रदेश कार्य समितिले वीरेन्द्रनगरमाथि झन् ठूलो खेलवाड गर्‍यो । सुरुमा नारायण सापकोटालाई टिकट दिने निर्णय भएको भन्दै उम्मेदवारी दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालयमा बोलाइयो । तर क्षणभरमै खड्काको नाममा निर्णय भएको खबर सुनाइयो । नगर कार्य समिति र प्रदेश कार्य समितिबाट फिल्मी शैलीमा भएको यस खालको ‘स्टन्ट’ ले संस्थापन समूहभित्रै असन्तुष्टि जन्मायो । एकातिर थानी समूहको असहयोग, अर्कोतिर संस्थापन समूहभित्रै बढेको असन्तुष्टि, यसले कांग्रेसलाई हराउन थप मलजल गर्‍यो । यो ‘स्टन्ट’ मा वीरेन्द्रनगरका तत्कालीन मेयरसमेत रहेका पार्टीका जिल्ला सचिव देवकुमार सुवेदी पनि जोडिएका छन् । उम्मेदवार बनेका खड्का सुवेदीनिकट हुन् । थुप्रै आकांक्षी देखिएपछि कांग्रेस नेतृत्वले सुवेदीलाई पुनः उम्मेदवार बन्न भनेको थियो । तर उनले उक्त कुरा अस्वीकारमात्र गरेनन्, सुरुदेखि अन्तिमसम्म खड्कालाई टिकट दिलाउन भरमग्दूर प्रयास गरे । पार्टी नेतृत्वले पनि उनको कुरा सुन्यो ।

चौथो – गठबन्धन गडबड
वीरेन्द्रनगरमा अन्तिम समयमा आएर माओवादी केन्द्रसँग चुनावी गठबन्धन त भयो, तर कार्यान्वयमा गडबडी भयो । मेयर र उपमेयरमा मात्र गठबन्धन हुनु, सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादीलाई जिल्लाभर अलग गर्नु आदि कारणले वीरेन्द्रनगरको नेतृत्व हत्याउने कांग्रेसको सपना पूरा हुन सकेन । हुन त कांग्रेसका मेयर उम्मेदवारले माओवादीको मत नपाएजस्तै माओवादीका उपमेयर उम्मेदवारले पनि कांग्रेसबाट अपेक्षाकृत मत पाइनन् । मेयर–उपमेयरमा तालमेल भए पनि वडा तहमा कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा भयो । यसले गठबन्धनमा ठूलो गडबडी निम्त्यायो । कांग्रेस र माओवादीबीच वडास्तरसम्मै गठबन्धन भइदिएको भए चुनावी नतिजाले एमालेलाई स्तब्ध बनाउनेमा कुनै शंका थिएन । त्यसमाथि एकीकृत समाजवादीलाई साथमा लिएको भए कांग्रेसले यस्तो नतिजा भोग्नुपर्ने थिएन ।