
सुर्खेत। सरकारी निर्णयको विरोध गर्दै सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेका वायुसेवा सञ्चालकहरुले आज दिउँसो ११ बजेबाट नियमित उडान गर्ने भएका छन्। नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भएको वार्तामा उडान सञ्चालन गर्ने सहमति भएको हो।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच प्राधिकरण कार्यालयमा मंगलबार मध्यरात भएको वार्ताले उडान नरोक्ने निष्कर्ष निकालेको छ।
नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरु राति पार्किङ गर्न काठमाडौंबाहिर विमानस्थलमा लैजानुपर्ने निर्णय गत आइतबार गरेको थियो। त्यसैको विरोधमा वायुसेवा सञ्चालक संघले सम्पूर्ण उडान स्थगनको घोषणा गरेको थियो।
प्राधिकरणले हेलिकप्टर कम्पनीलाई असार ७ गतेदेखि र हवाईजहाज कम्पनीलाई १३ गतेबाट तोकिएको विमानस्थलमा मात्र राति पार्किङ गर्न निर्देशन दिएको थियो। त्रिभुवन विमानस्थलको ‘उडान सुरक्षा सुदृढीकरण’ को कारण देखाउँदै यस्तो निर्णय गरिएको हो।
