शुक्रबार, बैशाख ७, २०८१

सरकारकाे नेतृत्व एमालेले गरेको भए अहिलेसम्म कर्णालीकाे रुप फेरिन्थ्योः महासचिव पोखरेल

  
कर्णाली टाइम्स शनिबार, साउन ७, २०७९


सुर्खेत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व लिन नपाएकाले कर्णालीका जनताले संघीयताको फाईदा लिन नसकेको बताए। उनले एमालेले सरकारको नेर्तत्व गरेको भए कर्णालीको रुप नै फेरिएको देख्ने अवस्था आउने बताए।
‘एमालेले कर्णालीको सरकारको नेतृत्व गर्न पाएको भए यहाँको रुपरंग फेरिन्थ्यो, सुर्खेतमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली पछाडि पर्नुमा एमाले जिम्मेवार होईन, अबका दिनमा एमालेले नेतृत्व लिएर कर्णालीको समृद्धिको लागि अघि बढ्नुपर्छ।’
उनले अबको निर्वाचनबाट कर्णाली प्रदेश सरकारको नेतृत्व लिने र एमालेको बलियो किल्लाका रुपमा कर्णालीलाई स्थापित गर्नतर्फ लाग्न महासचिव पोखरेलले कार्यकर्ताहरुलाई आग्रह गरे।
उनले स्थानीय तहको निर्वाचन २०७९ बाट एकल मतका हिसाबले एमाले नै पहिलो रहेको दावी गरेका छन्। काँग्रेसले गठबन्धनको साहरामा पहिलो स्थानीय तहमा पार्टी भएपनि दलको एकल मतका हिसाबले एमाले पहिलो भएको उनको दावी थियो।
‘पहिलो स्थानीय तहको निर्वाचनबाट भन्दा पनि अहिले पाँच दलीय गठबन्धनसँग चुनाव लड्दा आन्तरिक मत बढेर आएको छ, यो हाम्रो गौरवको कुरा हो,’ महासचिव पोखरेलले भने, ‘गठबन्धनको सहारामा कुनै पार्टी पहिलो भएपनि यसमा पार्टीको मतका हिसाबले नेकपा एमाले नै पहिलो पार्टी बनेको छ।’
उनले एमालेभित्र पनि अवसरवादी प्रवृत्ति मौलाएको बताए। उनले पार्टी भित्रका नेता तथा कार्यकर्ताहरुको आचरण बिग्रिन थालेको बताए।