सुर्खेत। नेपाली काँग्रेसका सभापति पूर्णबहादुर खड्का आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गरिरहेका छन्। सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका उपसभापति खड्का असोज अन्तिमदेखि आफ्नो निर्वाचन क्षेत्रमा पुगेर घरदैलो गरिरहेका छन्।
निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुगेर उनले आफ्नो कार्यकालमा सुरु गरेर अधुरा भएका योजना पूरा गर्ने र निर्वाचनपछि विकासका नयाँ काम सुरु गर्ने प्रतिबद्धतासहित मत दिन आग्रह गरेका छन्।
‘विगतदेखि म संसदमा हुँदा सुरु गरेका केही कामहरु छन्, कतिपय पूरा भईसके र बाँकी रहेका काम पनि अब पूरा गर्नु छ,’ सोमबार गुर्भाकोट नगरपालिका–११ बर्मागाडमा घरदैलो गर्नेक्रममा उनले भने, ‘अबका दिनमा पनि मैंले थुप्रै काम गर्नुछ, त्यसका लागि मलगायत गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहोस्।’
विगतमा विघटन गरिएका संविधानमाथिका प्रहारको प्रतिरक्षा गर्न सडकबाट संघर्ष गरेका दलहरुले अहिलेको निर्वाचनमा एक ठाउँमा उभिएकोले भोलिका दिनमा पनि प्रतिगमन दोहोरिन नदिन र संविधानको रक्षा गर्न गठबन्धनको जीत अपरिहार्य भएको उपसभापति खड्काले बताए।
‘प्रतिगमनको भूमिकामार्फत विगतमा नेतृत्वबाट संविधानमाथि नै प्रहार भएको छ, यसको रक्षाका लागि तत्काल गठबन्धनमा रहेका दलसहित हामी सडकमा उत्रियौं,’ खड्काले भने, ‘अहिले उनै दलहरुबीच गठबन्धन भएको छ, यो गठबन्धन चुनावसम्मका लागि मात्र होईन, भोलिका दिनमा संविधानको रक्षा गर्नका लागि पनि हो।’
आफ्नो चुनावी अभियानअन्तर्गत घरदैलो गर्नेक्रममा उपसभापति खड्काले सबै मतदाताले आफ्नो मतको सदुपयोग गर्न पनि आग्रह गरेका छन्।
कर्णाली टाइम्स
मंगलबार, कार्तिक १५, २०७९