शनिबार, बैशाख १५, २०८१

सुर्खेतमा हुने पत्रकार महासंघको केन्द्रीय साधारण सभाको तयारी तिव्र, राष्ट्रपतिले उद्घाटन गर्ने

  
कर्णाली टाइम्स बुधबार, पुस ६, २०७९

सुर्खेत। नेपाल पत्रकार महासंघको सुर्खेतमा हुने केन्द्रीय साधारण सभाको तयारी करिब पूरा भएको छ। महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले देशभरबाट आउने पत्रकारहरुका लागि वीरेन्द्रनगरका २२ वटा होटेलहरुमा बस्ने व्यवस्था गरिएको बताए।
साधारण सभामा ७ सय बढी पत्रकारहरुको उपस्थिति सुर्खेतमा हुने अपेक्षा गरिएको छ।
सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले साधारण सभा सफल बनाउन आफूहरु लागिरहेको बताए।
महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासंघको ६७ बर्ष लामो इतिहासमा पहिलो पटक कर्णाली प्रदेशमा साधार सभा हुन लागेको बताए। साधारण सभाको लागि आर्थिक दायित्व केन्द्रीय समितिले नै निर्वाह गर्ने उनले बताए।
साधारण सभाका लागि कर्णाली प्रदेश सरकारले १७ लाख बजेट विनियोजन गर्ने निर्णय गरेको छ। संघीय सरकारसँग पनि बजेटको माग गरिएको कोषाध्यक्ष सेजुवालले बताए।
यस्तै सुर्खेत जिल्लाका सबै स्थानीय तह र सुर्खेत उद्योग वाणिज्य संघलाई पनि साधारण सभाको लागि आर्थिक व्यवस्थापनमा सहयोग गर्न आह्वान गरिएको छ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले साधारण सभाको तयारी तिव्र गतिमा भइरहेको बताए। उनका अनुुसार कार्यक्रममा महासंघका वैदेशिक शाखाका प्रतिनिधिहरु पनि सुर्खेत आउनेछन्।
यही पुस ८ गतेदेखि सुरु हुने महासंघको बार्षिक साधारण सभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन्। साधारण सभालाई सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले सम्बोधन गर्नेछन्।
कर्णाली प्रदेशका विभिन्न पालिकाका प्रमुखहरुलाई पनि अतिथीको रुपमा निमन्त्रणा गरिएको छ।
८ गते विहान ८ बजे वीरेन्द्रनगरको मंगलगढी चोकदेखि प्रभात सुरु हुने र ९ बजे कार्यक्रमको उद्घाटन हुने महासचिव पुरीले जानकारी दिए।
साधारसभा वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको छ। खाना खाईसकेपछि बन्दसत्र सुरु गरिने छ । कार्यक्रमका लागि देशभरका पत्रकारहरु ७ गते बेलुका सुर्खेत आइपुग्नेछन्। ७ गते नै महासंघको केन्द्रीय बैठक बस्नेछ।
महासंघको विगतदेखि भईरहेका गतिविधि र आगामी दिनमा गर्नुपर्ने कार्य योजनाको बारेमा बृहत छलफल गरिने महासचिव पुरीले बताए।
साधारण सभाको अवसर पारेर कर्णाली प्रदेशमा महत्वपूर्ण स्थानहरुको फोटो पर्दशनी गरिनेछ।