सोमवार, जेष्ठ ६, २०८२

कर्णाली प्रदेश अस्पतालले सुरु गर्यो मिर्गौला प्रत्यारोपण सेवा, पहिलो प्रत्यारोपण सफल

  
कर्णाली टाइम्स आइतवार, माघ २२, २०७९


सुर्खेत। कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ। शनिबार एक जना बिरामीको पहिलो मृगौला प्रत्यारोपण गरिएको छ। उक्त प्रत्यारोपण सफल भएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ।
पहिलोपटक कर्णाली प्रदेशमा दिईएको यो सेवा नवलपरासीका २२ बर्षीय युवकले लिएका छन्। बर्दघाट नगरपालिका–४ का ती युवकलाई ४३ बर्षीया आमाले आफ्नो मिर्गौला दिएकी छन्। सबै कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा गरेपछि पहिलो मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।
कर्णाली प्रदेश अस्पतालमा सुरु भएको मिर्गौला प्रत्यारोपण सेवा प्रदेशमा दोस्रो हो। यसअघि पोखरामा मिर्गौला प्रत्यारोपण सुरु गरिएको थियो।
कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाबाट कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शल्यक्रिया गर्ने टोली आएको थियो। टोलीमा प्रत्यारोपण केन्द्रका शल्यचिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. रस्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने, रेडियोलाजिष्ट डा. समीर दवाडी टोलीमा थिए।
प्रत्यारोपणमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काको नेतृत्वमा सल्यचिकित्सक डा. गणेश थापा, डा. विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा. पुजन बल्ल, डा. जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही, अपरेशन थियटरका ईन्चार्ज प्रभा रावल लगायतको टोली सहभागी भएको थियो।
मिर्गौला प्रत्यारोपण गरिएको बिरामी पाँच दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ।
अस्पतालको कुशल पूर्वाधार र प्रशासनिक व्यवस्थापनले पहिलोपटक मिर्गौला प्रत्यारोपण सफल भएको प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताए। उनले अब पश्चिम क्षेत्रको प्रत्यारोपणको माग कर्णाली प्रदेश अस्पताले पूरा गर्नेगरी लाग्नुपर्ने बताए।
प्रत्यारोपण केन्द्रको सातै प्रदेशमा अंग प्रत्यारोपण सेवा सञ्चालन गर्ने उद्देश्यका साथ दोस्रो पटक कर्णालीमा सुरु गरिएकोले यसले निरन्तरता पाउने श्रेष्ठले बताए। उनका अनुसार कर्णाली प्रदेश अस्पतालमा पहिलोपटक गरिएको मिर्गौला प्रत्यारोपण निशुल्क हो।
उनले यो सेवालाई निरन्तरता दिन शल्यचिकित्सकलाई सुर्खेतमै राख्ने वातावरण अस्पतालले मिलाउनुपर्ने बताए। सरोकारवाला निकायले अस्पताललाई अझ बलियो बनाउनतर्फ लाग्नुपर्ने श्रेष्ठले बताए।
कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न २०७८ चैत १० गते शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अस्पतालबीच सम्झौता भएको थियो।
त्यसपछि प्रदेश अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक तथा नर्सिङ कर्मचारीहरुलाई प्रत्यारोपण केन्द्रले १४ दिनसम्म तालिम दिएको थियो।
अंग प्रत्यारोपण समन्वय समितिबाट विशेषज्ञहरुले प्रदेश अस्पतालको स्थलगत निरीक्षण गरी २०७९ कात्तिक २० गते अंग प्रत्यारोपण सम्बन्धि क्रियाकलाप सञ्चालन गर्न अनुमति दिएको थियो।
प्रदेश अस्पतालमा अंग प्रत्यारोपण सेवालाई निरन्तरता दिनकै लागि अस्पतालमा कार्यरत चिकित्सक, नसै तथा प्राविधिकहरुलाई क्षमता अभिवृद्धिका लागि थप तालिममा पठाउने योजना कर्णाली प्रदेश अस्पतालको रहेको निर्देशक डा. खड्काले बताए।
उनीहरुलाई एक बर्षका लागि फेलोसिपको व्यवस्थापन गरी तालिममा पठाईने उनले बताए।