बिहीबार, पुस ३, २०८२

सल्यानमा काकाले बोकेको बन्दुक पड्किँदा भतिजाको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, फागुन ३०, २०७९


सुर्खेत। भरुवा बन्दुक पड्किँदा सल्यानमा एक जनाको मृत्यु भएको छ। सोमबार बेलुका बनगाड नगरपालिका–९ स्वाराका ४० बर्षीय आईते रावतले बोकेको भरुवा बन्दुक पड्किँदा उनका भतिजा नाता पर्ने १६ बर्षका चित्रबहादुर रावतको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार काका–भतिजा सोमबार बेलुका सिकार खेल्न भनेर भरुवा बन्दुकसहित नजिकैको बाहुनडाँडा भन्ने जंगलमा गएका थिए। आईते रावतले बोकेको उक्त बन्दुक पड्किँदा चित्रबहादुरको घाँटी र पेटमा गोली लागेको थियो।
सोमबार बेलुका अन्दाजी ५ बजेतिर उक्त घटना भएको प्रहरीले जनाएको छ। घटनालगत्तै चित्रबहादुरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लिईएको थियो। उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा ओरघाट भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना भएपछि अस्पताल लिन खोज्दा बाटोमै मृत्यु भएको रहेछ मृत्यु भएपछि पुनः घरमै फर्काईएको थियो। प्रहरीलाई भने राति अबेर स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए।
घटनापछि फरार भएका आईते रावतलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खनालले जानकारी दिए।