सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट धरौटीमा रिहा भएका छन्। रकम लुटेको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका वडाध्यक्ष विष्ट बिहीबार धरौटीमा छुटेका हुन्। उच्च अदालत सुर्खेतको संयुक्त इजलासले विष्टलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी विनोद आचार्यले बताए।
साउन २१ गते जिल्ला अदालत सुर्खेतले विष्टसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले वडाध्यक्ष विष्टसँगै सुशील भनिने प्रेम गुरुङ र बलिराज शाहीलाई पनि कारागार चलान गरेको थियो।
उच्च अदालतले वडाध्यक्ष विष्टलाई ५ लाख, सुशील भनिने प्रेमलाई ४ लाख र बलिराजलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न बिहिबार आदेश दिएको आचार्यले जानकारी दिए।
उनीहरुविरूद्ध असार २२ गते प्रहरीमा जाहेरी परेको थियो। स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरुविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए।
वडाध्यक्ष विष्टको नेतृत्वमा साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको थियो। वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट असार २१ गते रकम लुटेर लिएको पीडकले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
जाहेरीका आधारमा प्रहरीले विष्टसहित ५ जनालाई पक्राउ गरेको थियो। पुर्पक्षका लागि कारागार चलान भएकाबाहेक अरु दुई जना सन्तोष थापा र यामराज शाहीलाई भने जिल्ला अदालत सुर्खेतले त्यतिबेला नै २÷२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।
पक्राउ परेकाहरुविरूद्ध प्रहरीले असार २४ गते अदालतमा मुद्दा दर्ता गराएको थियो। उक्त घटनापछि विष्टलाई नगर कार्यपालिकाले निलम्बन गरेको छ।
कर्णाली टाइम्स
बिहीबार, असोज १८, २०८०