आइतवार, असोज १९, २०८२

प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित

  
कर्णाली टाइम्स मंगलबार, माघ ९, २०८०


सुर्खेत। कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं हार ब्यहोरेको छ। कोशी मुलपानी क्रिकेट मैदानमा मंगलबार कर्णाली प्रदेशसँग ६ विकेटले पराजित भएको हो।
तेस्रो जितसँगै कर्णालीले ६ खेलमा ६ अंक जोडेको छ। सातै खेलमा पराजित कोशी अंकविहन छ।
कोशीले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो। कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ५० रनको योगदान गरे। यसैगरी विपिन शाहीले २८, हिमान्शु शाहीले अविजित २४, निश्चल रावलले २१ र कप्तान रविन्द्र शाहीले १२ रन बनाए।
दोस्रो विकेटका लागि अर्जुन र निश्चलले ४८ रनको साझेदारी गरे। कोशीका लागि हेमन्त राईले तीन र कमल खत्रीले एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनको योगफल तयार पारेको थियो।
कोशीका लागि सुजन थपलियाले ७३ बलमा आठ चौका र चार छक्काको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे। यसैगरी सौजन घिमिरेले १२ र आइश भट्टराईले ११ रन बनाए।
कर्णालीका लागि दिनेश अधिकारीले आठ ओभरमा एक मेडनसहित १८ रन खर्चिएर चार विकेट लिए। यसैगरी प्रकाश जैसीले तीन र युनिश सिंहले दुई विकेट लिए।