बुधबार, बैशाख १९, २०८१

कर्णालीमा सत्तागठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित

  
कर्णाली टाइम्स बिहीबार, माघ ११, २०८०


सुर्खेत। कर्णाली प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धन विजयी भएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनबाट अन्य क्लस्टरमा उम्मेदवार बनेका नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम), महिलातर्फ उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) का सावित्री मल्ल (दैलेख) र दलिततर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विश्वकर्मा (कालीकोट) विजयी भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार रोकायालये ३ हजार ८७०, मल्लले ३ हजार ७२२ र विश्वकर्माले ३ हजार ८१७ मतभार ल्याएका छन्।
यस्तै नेकपा एमालेबाट उम्मेदवार बनेका उम्मेदवारहरुमध्ये अन्य क्लस्टरतर्फका डिल्लीप्रसाद भट्ट (मुगु) ले १ हजार २१४, महिलातर्फ विमला शाही (हुम्ला) ले १ हजार ३६२ र दलिततर्फ हिक्मतबहादुर विक (दैलेख) ले १ हजार २६७ मतभार पाएका छन्।
सत्तागठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएका रुकुम पश्चिमका रोकाया यसअघि दुइटा आम निर्वाचनमा पराजित भएका थिए। उनी अहिले पार्टीको प्रदेश महामन्त्री छन्।
दैलेखकी मल्ल यसअघि २०७४ को स्थानीय तह निर्वाचनबाट नारायण नगरपालिकाको उपमेयर बनेकी थिईन्। उनी अहिले नेकपा (एस) को केन्द्रीय सदस्य तथा दैलेख ईञ्चार्ज छिन्।
सुरुदेखि नै पार्टीको मोर्चा सम्हाल्दै राजनीतिमा सक्रिय कालीकोटका विश्वकर्मा २०४९ को स्थानीय निकाय चुनावबाट साविक मालकोट गाविस अध्यक्ष बनेका थिए। अहिले उनी माओवादी केन्द्रको केन्द्रीय समिति सदस्यको जिम्मेवारीमा छन्।