बुधबार, बैशाख १९, २०८१

एपिएफलाई २१ रनले हराउँदै कर्णालीले निकाल्यो जीत

  
कर्णाली टाइम्स बुधबार, माघ १७, २०८०


सुर्खेत। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रयितोगितामा कर्णाली प्रदेशले विभागीय टोली एपिएफ क्लबमाथि २१ रनको जित निकालेको छ। बुधबारको जितसँगै प्रतियोगिताको सुखद सुरुआत गरेको कर्णालीले नौ खेलमा आठ अंक जोडेको छ। पराजित एपिएफको समान खेलबाट १० अंक रह्यो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १ सय ८५ रनमा समेटियो।
एपिएफका लागि आसिफ शेखले १ सय १२ बलमा १० चौका र दुई छक्काको मद्दतले सर्वाधिक १ सय ८ रनको योगदान गरे। यसैगरी अमरसिंह रौटेलाले अविजित २८, कप्तान राहितकुमार पौडेलले १४ र लोकेश बमले ११ रन बनाए।
सातौं विकेटका लागि आसिफ र अमरले ८७ रनको साझेदारी गरे। कर्णालीका लागि प्रकाश जैसीले तीन ओभरमा दुई मेडनसहित नौ रन खर्चिएर चार विकेट लिए। यसैगरी दीपेन्द्र रावत र युनिस सिंहले समान दुई तथा दिनेश अघिकारीले एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रनको योगफल तयार पारेको थियो।
कर्णालीका लागि हिमान्शु शाहीले ५० बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे। यसैगरी अर्जुन घर्तीले तीन छक्का र एक चौकाको मद्दतले ५३, दीपेन्द्र रावतले २७, कप्तान रविन्द्र शाहीले २२, दीनेश अधिकारीले १९ र प्रकाश जैसीले १० रन बनाए।
चौथो विकेटका लागि हिमान्शु र अर्जुनले १ सय ११ रनको साझेदारी गरे। एपिएफका लागि श्याम ढकाल (मौसम) ले नौ ओभरमा दुई मेडनसहित ३२ रन खर्चिएर तीन विकेट लिए। यसैगरी अमरसिंह रौटेलाले दुई तथा भुवन कार्की र रमेश कुर्मीले समान एक विकेट लिए।