
सुर्खेत। आगलागीमा परेर मुगुमा दाजुबहिनीको मृत्यु भएको छ। जिल्लाको खत्याड गाउँपालिका–२ गोडेखोलाका तीन वटा घरमा गएराति आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको हो।
प्रहरीहा अनुसार आगलागीबाट स्थानीय लालु सञ्ज्यालका छोरा र छोरीको मृत्यु भएको हो। सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बीरबहादुर वलीका अनुसार ती दाजुबहिनी घरभित्रै मृत अवस्थामा फेला परेका थिए। उनीहरुको शव लिङ्ग पहिचान गर्न नसकिने गरि जलेको अवस्थामा भेटिएको थियो। चिकित्सकलाई घटनास्थलमै बोलाएर उनीहरुको शव निकालिएको र पोष्टमार्टम पनि घटनास्थलमै गरिएको एसएसपी ओलीले जानकारी दिए।
सोमबार बिहान सवा ६ बजेतिर सञ्ज्यालका दुई बालबालिका फेला नपरेको र तीन घर जलेको भनेर प्रहरीलाई स्थानीयले गरेका थिए। घटनास्थलमा प्रहरी पुगेपछि ९ बजेर ५६ मिनेटमा दुइटा जलेका शरीर भेटिएको थियो। शव पहिचान गर्न सकिने अवस्था नभएपछि डाक्टरलाई नै बोलाएर पहिचान गराई परिवारलाई दाहसंस्कारका लागि बुझाईएको हो।
प्रहरीका अनुसार गोडेखोला गाउँका स्थानीय लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालका एकआपसमा जोडिएका घरहरु पूर्ण रुपमा जलेका छन्।
उनीहरुका गोठभित्र रहेका चौपाया पनि आगलागीमा परि मरेका छन्। खाना पकाउने भान्सा कोठाबाट पशुचौपाया राख्ने गोठमा आगो छिरेर तीन वटा घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाको मुचुल्का गर्ने काम भईरहेको र धनसम्पत्ति क्षतिको यकिन विवरण भने आईसकेको छैन।
कर्णाली टाइम्स
सोमवार, माघ २२, २०८०
