सुर्खेत। शिक्षा नीति र कार्यान्वयनको अवस्थाका विषयमा पत्रकाहरुका लागि दुई दिने तालिम सुरु भएको छ। सेभ द चिल्ड्रेनको आयोजना तथा शिक्षा पत्रकार समूह कर्णाली प्रदेशको समन्वयमा पत्रकारहरुका लागि दुई दिने तालिमको आयोजना गरिएको हो।
बिहिबारदेखि सुरु भएको ‘नीतिमा शिक्षा, कार्यान्वयनको अवस्था र पत्रकाहरुको भूमिका’ विषयक तालिममा सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट २५ जना भन्दा बढी पत्रकाहरु सहभागी छन्।
उक्त तालिममा शिक्षासम्बन्धि राष्ट्रिय नीति, स्थानीय तहमा शिक्षा नीति निर्माण र कार्यान्वयनको अवस्था, समाचार संकलन तथा प्रकाशनका क्रममा ख्याल गर्नुपर्ने कानुनी पक्षहरु, शिक्षाका मुद्दाहरु, विद्यालय व्यवस्थापन समितिका असल अभ्यास र पत्रकारको भूमिका लगायतका विषयमा प्रशिक्षण दिईनेछ।
तालिममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, अधिवक्ता गणेश वली, वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्र लम्साल र विद्यालय व्यवस्थापन समिति महासंघका कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोईरालाले सहजीकरण गर्नेछन्।
बिहिबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री बिरबहादुर शाहीले तालिमको उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा बोल्दै मन्त्री शाहीले शिक्षाको गुणस्तर वृद्धि गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए। शिक्षामा बनेका नीतिका कार्यान्वयन र आवश्यक नीति निर्माणको लागि वकालत पत्रकारले गर्ने उनले विश्वास व्यक्त गरे।
सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्नराज ओझाले शिक्षाको क्षेत्रमा वकालत गर्ने निकाय र व्यक्तिसँग सँधै सहकार्य गरिएको बताए। पत्रकारले अध्ययन र विश्लेषणका आधारमा तयार पारिएको शिक्षासम्बन्धि समाचारले सेभ द चिल्ड्रेनलाई काम गर्न सहज हुने बताए।
कर्णाली टाइम्स
बिहीबार, जेष्ठ १७, २०८१