शनिबार, कार्तिक १०, २०८१

विकास निर्माणमा दलहरु एकमत हुनुपर्छः खड्का

  
कर्णाली टाइम्स बुधबार, असार ६, २०८१

सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विकास निर्माणका विषयमा दलहरु एकमत एकमत हुनुपर्ने बताएका छन्। जनताको सेवा गर्नु सबै राजनीतिक दलहरुको लक्ष्य भएकाले विकास निर्माणमा विवाद नरहने बताए। उनले सबै राजनीतिक दलहरु मिलेर बजेट सदुपयोग गनुृपर्नेमा जोड दिए।
सुर्खेतका लेकवेशी गनरपालिका र चिङ्गाड गाउँपालिका जोड्ने पुलको उद्घाटन गर्दै उपसभापति खड्काले राजनीतिक दर्शनका हिसाबले पार्टी फरक भएपनि विकासका लागि सबैको साझा हुनुपर्ने बताए।
जनताका लागि आवश्यक विकास निर्माणमा जनप्रतिनिधिको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। सबै राजनीति दलको लक्ष्य जनताको सेवा, समृद्धि, सम्मुन्नति, उन्नति र प्रगति भएको उनको भनाई थियो।
‘विकास निर्माणमा कुनै राजनीति दलको विवाद छैन, जनताको सुखदुखमा, समृद्धिमा, सम्मुनतिमा, उन्नति प्रगतिमा राजनीतिक दलहरुबीच कुनै विवाद हुनु पनि हुँदैन,’ खड्काले भने, ‘सबै एकतावद्व भएर आएको बजेटलाई सदुपयोग गर्न, गुणस्तरीय काम गर्नतर्फ लाग्नुपर्छ।’
उनले सामुदायिक विद्युतीकरणको काम विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न स्थानीय तहसँग आग्रह गरे। सुर्खेतलाई पूर्ण विद्युतीकरण गर्नेगरि यसपालिको बजेटमा व्यवस्था गरिएको उनले जानकारी दिए।
‘सिम्ता र चिङ्गाड गाउँपालिकामा सामुदायिक विद्युतीकरणका कारण विद्युत प्राधिकरणलाई काम गर्न समस्या भएको छ, ‘चाँडो विद्युतीकरणका लागि सामुदायिक विद्युतीकरण विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न आवश्यक छ।’
उपसभापति खड्काले चिङ्गाडको तिरैतिर भएर जाने गंगटे–आरनटुडा–ढाँडखेत–मटेला–थाला–भ्युसा–जाजरकोट सडकको स्तरोन्नतिका लागि काम भइरहेको बताए।