बिहीबार, मंसिर २३, २०७८

हलियादेखि आरनसम्म (भिडियो कथा)

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ३०, २०७६
सडक छेउमा टिनको छाप्रोमा आरन व्यवसाय गर्दै आएका रणक बहादुर विक ।

 जगतदल जनाला विक
सुर्खेत । मुगुको खत्याड गाउँपालिका–५ का ४० वर्षीय रणक बहादुर विक को परिवार पहिले गाउँमा साहुका हलिया भएर काम गर्थे । पुख्यौली रुपमा हलिया बस्दै आएका उनका परिवारहरुले लामो समय हलिया बसेरै बित्यो । दश वर्षसम्म रणकले पनि मालिकको हलिया बनेर काम गरे । हलिया लागेर दिएको थोरै (एक गडो) जमिन पनि साहुले लिएपछि उनी भारतमा गए । भारतमा पनि उनकी श्रीमती बिरामी भएपछि गाउँलेसंग तीन लाख ऋण मागेर उपचार गरे । भारतमा काम (नौकरी) गरेर पनि त्यो पैसा तिर्न नसक्ने अवस्था आयो । त्यसपछि उनी नेपाल आएर दुइ वर्ष देखि सुर्खेतमा आरन पेसा गरेरै बालबच्चालाई साँझ बिहान छाक टारे । उनका चार छोरा र दुइ छोरी गरि ६ सन्तान छन् । रणकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनका लागि दौडधुप गरे । तर प्रतिस्पर्धा र महंगीका कारण वीरेन्द्रनगरका नमुना सामुदायिक विद्यालयमा पढाउन सकेनन् । ‘केटाकेटीलाई सरकारी स्कुलमा लिएं त्यहाँ भर्ना गर्न सकिएन, अनि मदरसामा पढाई रहेको छु ।’ रणकले भने, अरु भन्दा त हामी अलि धेरै बालबच्चा भएकालाई भाडामा कोठा दिन पनि नमान्दा रहेछन् ।’


सडकको छेउमा एउटा सानो टिनको भुप्रोबाटै विकले आरन व्यवसाय गरिरहेका छन् । आधुनिक र प्रविधिको विकास सङ्गै आरन व्यवसाय पनि संकटमा पर्दा साँझ बिहान छाक टार्न समेत मुस्किल परेको उनले बताए । नेपालकै माटोमा मेहनत र यहाँकै दाजुभाई संग भाइचाराको सम्बन्धका साथ विदेशबाट स्वदेश फर्किएपनि आफुहरुलाई चुनावका बेला मात्र प्रयोगमा ल्याउने गरको गुनासो गरे । ‘हामीलाई भोट हाल्न मात्र प्रयोग गरिन्छ, तर चुनाव जितेर हामीहरुलाई फर्किएर पनि हेर्दैनन् ।’

भिडियो हेर्नका लागि यहाँ क्लिक गनुहोला ।