मंगलबार, जेष्ठ २९, २०८१

लकडाउन : बालबच्चासँग सम्बन्ध कसिलो पार्ने र सुधारको जग हाल्ने उत्तम अवसर

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ९, २०७७


कौशीला चन्द

यो लकडाउन, अर्थात घरभित्रै बस्ने समय हो । कोरोनासँगको लडाइँ जित्नका लागि हामी सबै आ–आफ्नो घरभित्र बसिरहेका छौं । बस्नु पनि पर्छ । यस्तो बेला लकडाउनको पूर्ण पालना गर्दै रचनात्मक कुरामा आफ्नो समय लगानी गर्नुपर्छ । निश्चय नै, लकडाउनले हामी सबैको दैनिकी प्रभावित भएको छ । आवतजावतमा कठिनाइ भएको छ भने ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई साँझ बिहानो चुल्हो बाल्न हम्मे भएको छ । यद्यपि, यलकडाउनले हामीलाई केही अवसर र फाइदा पनि दिएको छ । यी अवसर वा फाइदालाई हामीले रुपैयाँ पैसाले किनेर पनि प्राप्त गर्न सक्दैनौं ।

हामीमध्ये धेरैको दैनिकी निकै व्यस्त छ । घरपरिवारदेखि कार्यालयसम्मको जिम्मेवारीमा च्यापिएका, थिचिएका छौं । कछुवाको गतिमा शरीर र खरायोको गतिमा मन–मष्तिस्क दगुरिराखेको हुन्छ । हाम्रो लागि दशैं–तिहारजस्ता चाडपर्व दिमागी र शारीरिक थकान मेट्ने, पारिवारिक जमघट गर्ने, भलाकुसारी गर्ने, प्रियजनसँग गुणस्तरीय समय बिताउने, लालाबालासँग सँगै बसेर रमाउने अनि मनभरिकाम चाहना पूरा गर्ने कोशिक गर्छाै‌।

कोरोना भाइरस रोगक (कोभिड–१९) द्वारा सिर्जित लकडाउनले वर्षमा एकपटक आउने दशैंतिहारको अवसर अहिले हामीलाई दिएको छ । आफ्ना लालाबाला र परिवारसँग गुणस्तरीय समय लगानी गर्न सकिने गरि यस्तो समय फेरि कहिले आउला र ? यो अभिभावक र छोराछोरीबीचको सामाजिक सम्बन्धलाई मजबुत बनाउने सुवर्ण अवसर हो । छोराछोरीलाई उनीहरुको दैनिक जीवनमा उपयोगी हुने काम–कुरा सिकाउन, छोराछोरीसँग भएको प्रतिभा तथा सीपको पहिचान गर्न र थप मद्धत गर्नको लागि उपयुक्त वातावरण पनि हो । विशेषगरी मैले यो अवसरलाई कसरी सदुपयोग गर्ने भन्नेबारे आफ्नो धारणा राख्ने प्रयास गरेकी छु ।

  • सबैभन्दा पहिले त बालबालिकाप्रतिको धारणा र सोचलाई बदल्नु पर्दछ, बालबालिकालाई कुनै वस्तुको रुपमा नभई पूर्ण मानवको रुपमा बुझ्नुपर्दछ । उनीहरुको खुट्टामा आफूलाई उभाएर (उनीहरुको धरातलबाट) हेर्नुपर्दछ । उनीहरुको आफ्नै अनुभूतिलाई पहिचान गरेर सोही बमोजिमको व्यवहार गर्नुपर्दछ ।
  • बालबालिकाप्रतिको नकारात्मक परिभाषालाई पुनः परिभाषित गर्नुपर्दछ । उनीहरुको ‘युनिक’ विशेषता (सामान चलाउने, बिगार्ने, फुटाउने, धेरै बोल्ने, बोल्दै नबोल्ने वा कम बोल्ने, धेरै प्रश्न गर्ने) प्रतिको नकारात्मक परिभाषा– चकचके, बदमास, बोलक्कड, घोसे, छुच्चो) लाई पुनः परिभाषित गर्नुपर्दछ । सकारात्मक परिभाषा (जिज्ञासु, नेतृत्व गर्ने कला भएको, सोचेर मात्र बोल्ने, इमान्दार, सोझो कुरा गर्ने) मा रुपान्तरण गर्नुपर्दछ । जब हामीले यति कुरा गर्न थाल्छौं तब बालबालिकाको लागि सिक्ने वातावरण तयार हुन्छ । बच्चा र अभिभावक दुबै सिक्ने सिकाउने प्रक्रियाका लागि उत्साहका साथ तयार हुन्छन् । एकअर्काबीच विश्वासिलो सम्बन्धको बलियो जग बन्दछ ।
  • बालबालिकाले अनुभूति गर्ने गरी उनीहरुलाई माया देखाउनु पर्दछ । अभिभावकले गरेको माया उनीहरुले बुझ्नु पर्दछ । विभिन्न प्रकारले माया देखाउन सकिन्छ । जस्तैः उनीहरुको नजिकै वा छेउमै बसेर, शारिरिक स्पर्श गरेर (स्याबास भन्दै धाप मारेर), बिनाजानकारी उनीहरुलाई उपहार दिएर, उनीहरुको काममा मद्दत गरेर र उनीहरुसँग गुणस्तरीय समय व्यतित गरेर । त्यसैले यो लकडाउनको अवधिभित्र हामीले हाम्रा बालबालिकासँगै बसेर, कुराकानी गरेर, उनीहरुलाई मनपर्ने खाजा–खाना पकाइदिएर, गुणस्तरीय समय बिताएर, उनीहरुको कामलाई आवश्यक मद्दत गरेर माया देखाउन सक्छौं । यसले गर्दा हाम्रा बालबालिकाले हामीले गरेको मायाको अनुभूत गर्नेछन् । हामीलाई पनि उनीहरुले माया देखाउन थाल्नेछन् ।
  • बालबालिकाको राम्रो काम, राम्रो व्यवहारको प्रशंसा गर्नुपर्दछ । सबै मानिस प्रशंसाको भोको हुन्छन् । त्यसैले बालबालिकाले पनि उनीहरुको प्रशंसा गरेको मन पराउँछन । प्रत्येक दिन, प्रत्येक क्षण हाम्रा बालबालिकाले केही न केही राम्रो काम–कुरा गरिरहेका हुन्छन् । त्यसको बोरमा सोधखोज गरौं । पत्ता लगाऔं र खुलेर प्रशंसा गरौं । जस्तैः स्याबास नानी, स्याबास बाबु, अहो कति राम्रो कुरा गरेको, कति राम्रो काम गरेको, कति राम्रो बोलेको, कति राम्रो खाएको इत्यादि भनेर उनीहरुको बयान गरौ । यसले उनीहरुलाई थप राम्रो गर्नका लागि ऊर्जा प्राप्त हुन्छ । राम्रो काम–कुरालाई निरन्तरता दिन कोशिस गरिरहन्छन् ।
  • बालबालिकासँग घनिष्ठ कुराकानी गर्नुपर्दछ । जसरी हामी आफ्ना हितैसीसँग गफिन्छौं, त्यसैगरि हामीले हाम्रा बालबालिकासँग पनि घनिष्ठ बातचित वा कुराकानी गर्न जरुरी छ । यसरी कुराकानी गर्दा अभिभावकले उनीहरुलाई महत्व दिएको, उनीहरुको विचार सुनिदिएको र राम्रो प्रतिक्रिया देखाएको महशुस गर्दछन् । बालबालिकाको अन्तरमनको कुराहरुको बारेमा अभिभावकलाई जानकारी हुन्छ । बालबालिकाको कतिपय जिज्ञासा पनि मेटिन्छन् । आफ्नो लागि अभिभावकको साथ छ भन्ने कुरा अनुभूत गर्छन् । यस्तो घनिष्ठ कुराकानीले बच्चा र अभिभावकबीच अझै निकट सम्बन्ध स्थापना हुन्छ । बच्चा अभिभावकदेखि टाढा हुँदैन, बरु अझै नजिक हुन्छ ।
  • बालबालिकाको अगुवाइलाई पछ्याउनु पर्दछ, न कि हाम्रो अगुवाइमा उनीहरुलाई पछ्याउन लगाउने । उनीहरुले के गर्न खोजिरहेका छन्, त्यसको अवलोकन गर्ने, नजिकबाट नियाल्ने, उनीहरुको हरेक कृयाकलापको बारेमा आफूले जानकारी राख्नुपर्दछ । उनीहरुको कृयाकलाप तथा व्यवहारको पिछा गर्नुपर्दछ । यसले गर्दा मेरो अभिभावकले मलाई पछ्याइ राख्नुभएको छ, सधैं मसँगै हुनुहुन्छ भन्ने कुरा बालबालिकाले महशुस गर्दछन् । गर्न खोजेको कृयाकलाप राम्ररी सम्पादन गर्नका लागि उनीहरुलाई थप उत्साह प्राप्त हुन्छ । गर्न नहुने कृयाकलाप र गलत बाटोमा लाग्ने सम्भावना कम हुन्छ ।
  • बच्चा र अभिभावक एउटै कुरामा केन्द्रित हुनुका साथै आवश्यकताअनुसार सहयोग गर्नुपर्दछ । जस्तो कि– यदि बच्चाले आर्ट गरिरहेको छ भने त्यतिबेला अभिभावकको पूर्ण ध्यान बच्चाले आर्ट गरिरहेको कार्यमा हुुनुपर्दछ । बेला–बेलामा आहा कति राम्रो कलर गरेको, मेरो बाबुले मेरो नानीले कति राम्रो आर्ट गरेको, तिम्रो यो आर्ट गर्ने सीप देखेर म निकै खुसी छु, गज्जब, अझै राम्रो बनाउने कोशिस गर है, जस्ता शब्दले उसलाई हौसला दिइरहनुपर्दछ । कँहानेर उसलाई आफ्नो सहयोगको आवश्यकता पर्छ भनेर त्यो कृयाकलापलाई अवलोकन गरिराख्ने र मैले केही सहयोग गर्नुपर्छ ? भनेर सोध्ने । यदि बच्चालाई सहयोग गर्नुपर्ने संकेत भेटाइयो वा सहयोग गर्नैपर्ने अवस्था आयो वा बच्चाले सहयोगका लागि अनुरोध ग¥यो भने मात्र त्यतिबेला आवश्यक सहयोग गरिदिने गर्नुपर्दछ । यो प्रक्रिया बच्चाले गर्ने हरेक कृयाकलापका लागि उत्तिकै महत्वपूर्ण छ । उसले सिक्ने हरेक सिकाई प्रक्रियामा आवश्यक छ । यसो ग¥यौं भने बच्चाले आफूले गर्न खोजेको काम राम्ररी गर्न सक्दछ । सिक्न खोजेको कुरा राम्ररी सिक्दछ । अभिभावकको मद्दतमा गरेको वा सिकेको कुरा आफैले गर्न सके भनेर गर्व गर्दछ । आफ्नो कामका लागि आफैमाथि निर्भर हुन सिक्दछ ।
  • कुनै पनि चीज–वस्तु, स्थितिका बारेमा उनीहरुले बुझ्ने गरि अर्थ बताउने र अर्थको विस्तार गरिदिनुपर्दछ । सानो उमेरका हुन् वा ठूलो उमेरका बच्चा, उनीहरु सधैं सिक्न चाहन्छन् । बुझ्न चाहन्छन् । त्यसैले उनीहरुको वरिपरिको वातावरणमा भएका सबै चीज–बस्तु, अवस्था, स्थिति र व्यवहारका बारेमा सिक्ने कोशिस गरिरहेका हुन्छन् । सोधिरहेका हुन्छन् । खोजिरहेको हुन्छन् । यस्तो अवस्थामा हामीहरुले उनीहरुले जान्न, बुझ्न र सिक्न खोजेको कुराहरुको बारेमा, चीज–बस्तुको बारेमा, स्थिति अवस्थाको बारेमा बुझाउन, ती कुराहरुसँग सम्बन्धित थप अरु कुराको बारेमा बेलीविस्तार बताउन आवश्यक हुन्छ । यसले उनीहरुको बुझाइ फराकिलो हुँदै जान्छ । बच्चाको कल्पना शक्ति बढ्छ । आफूले कल्पना गरेका कुराहरुको बारेमा थप खोजी गर्ने, जान्ने, बुझ्ने र सिक्ने चाहना राख्दछ । यदि कुनै कुरा वा चीज–बस्तु वा परिस्थितिको बारेमा आफूलाई थाहा छैन, जानकारी छैन वा राम्रो ज्ञान छैन भने बच्चाहरुलाई झुठो कुरा, झुठो जानकारी वा हुँदै नभएको कुरा बताउनु हुँदैन । यसले उनीहरुमा नकारात्मक धारणा बन्न जान्छ । गलत बुझाइले उनीहरुको दिमागमा लामो समयसम्म स्थान लिनसक्छ । अभिभावकप्रति विश्वास कम हुन्छ । तिमीले सोधेको कुराका बारेमा अहिले मलाई थाहा छैन, म बुझेर पछि तिमीलाई बताउँला है, भनेर बच्चालाई सहमत गराउनुपर्दछ ।
  • चरणबद्ध योजना बनाउन, परिस्थिति अनुसारको योजना बनाउन, आवश्यकता अनुसारको सहयोग गर्न र सकारात्मक सिमा निर्धारण गर्नका लागि बच्चालाई सहजीकरण गर्नुपर्दछ । बच्चाको सहज र व्यवस्थित दैनिकिका लागि आवश्यक योजना तय गर्न, एक्कासि आइपर्ने परिस्थितिपछि पहिले गरिएको योजनालाई फेरबदल गर्न सक्ने वा बैकल्पिक योजना तय गर्न सक्ने वा बैकल्पिक योजनामा सहमत हुनसक्ने र अरुबाट नियन्त्रित होइन कि बच्चा आफूले आफैलाई नियन्त्रण (स्वनियन्त्रण) गर्नसक्ने व्यवहारहरु बच्चामा विकास गर्नका लागि उनीहरुलाई सहजीकरण गर्न निकै आवश्यक छ । जस्तैः बिहान खाजाअगाडी के गर्ने, खाजापछि के गर्ने, स्कुल जानुभन्दा अगाडि के गर्ने, स्कुलबाट फर्किएपछि के गर्ने, कति बेला उठ्ने, कति बेला सुत्ने, कति बेला बिहानको खाना–खाजा खाने, बेलुकाको कति बेला खाने, स्कुल बिदाको दिन वा शनिबार के के गर्ने, होमवर्क कतिबेला गर्ने, खेल्न कति बेला जाने, कहाँ जाने, कँहा नजाने, टिभी कति समयसम्म हेर्ने, मोबाइल कति समय कति बेला चलाउने, यस्ता सबै कुरामा योजना, समयतालिका वा कृयाकलापको तालिका बनाउन अभिभावकले बच्चालाई सहजीकरण गरिदिनुपर्दछ । उनीहरु आफैले आफ्नो लागि बनाउन उत्प्रेरित गर्नुपर्दछ । यसरी उनीहरुले बनाएको योजना कार्यान्वयन गर्न अभिभावकले आवश्यक मद्दत गरिदिनुपर्दछ । तर, बच्चालाई योजनाबद्ध ढंगले चल्न सिक्ने कुरा उनीहरुलाई सिकाइरहँदा अभिभावक स्वयं आफू पनि यसै गरि स्वअनुशासनमा रहि योजनावद्ध ढंगले चलेको हुनुपर्दछ । अनि मात्र बच्चाले विश्वास गर्दछ । यस्तो अभ्यासले वा प्रक्रियाले बच्चालाई संयमित हुन, स्वनियन्त्रित हुन, योजना बाहेकका कुराहरुमा जिद्धि नगर्न, परिस्थिति अनुसारको वैकल्पिक योजनामा सहमत हुन र स्वअनुशासित हुन मद्दत पुग्दछ ।
  • अन्त्यमा आफ्नै अनुभव
    हाम्रा बालबालिकासँग यी कुराहरु अभ्यास गर्नको लागि अहिले हामीसँग प्रशस्त समय छ । हाम्रो दैनिक व्यवहारमा यी कुराहरु अभ्यास गरेर हेरौं, त्यसपछि हाम्रो बच्चाको प्रतिक्रिया बुझौं । पक्कै पनि फरक पाउनेछौं । विविध चुनौतिका बाबजुद लकडाउनले हामीलाई समयको अवसर दिएको छ । यसलाई बच्चा र अभिभावकबीचको सामाजिक सम्बन्धलाई मजबुद बनाउनका लागि भरपूर प्रयोग गर्न सक्छौं ।
  • मैले आफूले यी अभ्यासहरु गर्न सुरु गरेकी छु । मेरो बच्चा असल भइदियोस् भन्नका लागि पहिले म आफू असल हुन जरुरी ठानेकी छु । त्यही अनुसार आफूलाई परिवर्तन गर्दैछु । जस्तैः मैले खाना पकाउनुपर्दा एक घण्टामा पकाइसक्छु । मेरो छोरालाई सँगसँगै सिकाउँदा दुई घण्टा समय लाग्छ । यसको मतलब मैले थप एक घण्टा धेरै खर्चिनुपर्दछ । धैर्यता पनि त्यत्तिकै राख्नुपर्दछ । पढ्ने–लेख्नेदेखि दैनिक जीवनमा अत्यावश्यक पर्ने र गर्नैपर्ने कामहरु पनि यसरी सिकाउने कोशिस गरिरहेकी छु । समय, शक्ति, श्रोतसाधन र धैर्यता वा सहनशिलता अलिकति बढी लाग्छ । सिकाई प्रभावकारी र दीगो हुन्छ । अन्ततः यसले बच्चा र अभिभावकबीचको झगडा वा किचकिच घटाउँछ । पारिवारिक शान्तिको लागि मद्दत गर्दछ । पहिले मेरो छोरालाई दाल, तरकारी खुवाउन झगडा गर्नुपथ्र्यो । अहिले मज्जाले खुसी भएर दाल खान थालेका छन् । पहिले आफूले खाएको भाँडो माझ्दैथे । अहिले आफूले खाएको भाँडा आफै माझ्छन् । मैले लुगा धँुदा उनी आफ्नो लुका आफै धुन्छु भनेर मसँगै धुन थाल्छन् । मैले रोटी पकाउँदा मसँगै रोटी पकाउन थाल्छन् । चिया पकाउन जानेका छन् । कुकरमा चामल अड्कल गरेर हाल्न सिकेका छन् । पानीको जर्किनहरु ओसार्न कोशिस गर्छन् । मसँगै काम गरेर उनले बारीमा भिन्टी रोपेका छन् । त्यसमा पानी चाहार्छन् । यसरी घरायसी कामहरु पनि सिकिरहेका छन् । त्यसो गर्न पाउँदा खुसी पनि भएका छन् । मोबाइल चलाउने र टिभी हेर्ने उनको समय कटौती भएको छ । हामीजस्ता कामकाजी वा व्यस्त अभिभावकले आफ्ना छोराछोरी र परिवारका लागि यस्तो समय सायलै पाउँछौं । त्यसैले आफ्नो बच्चाको सिकाइका लागि र आफ्नो परिवारको खुसीको लागि लकडाउनको सदुपयोग गरौं ।