शुक्रबार, बैशाख २१, २०८१

एक वर्षसम्म जग्गा बाँझो छोडे तीन पूस्ते विवरण सार्वजनिक, जग्गा अन्य किसानलाई उपभोग गर्न दिइने

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ९, २०७७

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाले गाउँपालिका भित्रका नागरिकले एक वर्षसम्म जग्गा बाराझो छोडे जग्गा धनीको तीनपुस्ते विवरण सार्वजनिक गरि उक्त बाँझो जग्गा अन्य किसानलाई उपभोग गर्न दिइने निर्णय गरेको छ ।
गत शनिबार बसेको नगर कार्यपालिकाको बैठकले किसानलाई आवश्यक पर्ने सबै सामग्री उपलब्ध गराउने योजनाका साथ सम्भावित भोकमरीबाट जोगिन यस्तो निर्णय गरेको नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायले जानकारी दिए ।
‘यहाँका आधा भन्दा बढि नागरिकहरु बाहिरबाट खाद्यान्न आयात गरिरहेका कारण यो कोरोनाको महामारीका बेला आत्म निर्भर हुनका लागि यस्तो निर्णय गरेका हौं,’ नगरप्रमुख उपाध्यायले भने, ‘यो बेला बाहिरबाट खाद्यान्न नआपनि नागरिकलाई कुनै समस्या पर्दैन ।’
भोली लकडाउनका कारण उत्पन्न हुन सक्ने परिस्थितिका कारण निकट भविष्यमा भोकमरी समेत हुन सक्ने भएकाले नगरपालिकामा रहेको जग्गा बाँझो नछोड्ने गरी खेतीबाली लगाउने नीति अबलम्बन गर्दै कृषिजन्य वस्तुको उत्पादन गरौ, भोकमरीबाट बचौ भन्ने अभियान संचालन गर्ने निर्णय भएको प्रमुख उपाध्यायको भनाई छ ।
यसका लागि नगरपालिकाले वडागत रुपमा जग्गा, किसान, अहिले कुन कुन खेती गर्न सकिने हो, खेती गर्नका लागि बिउ, प्रविधि, सामाग्री के सहयोग आवश्यक पर्ने हो सो को विवरण संकलन गरी ७ दिनभित्र सम्बन्धित वडाले नगरपालिकामा पेश गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।
नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाउने, कोही कसैले आफ्नो जमिन बाँझो छोडेको पाईएमा निजलाई खेती गर्न अनुरोध गर्ने, अटेर गरे खेती नगरी जग्गा बाँझो छोड्नेको तिनपुस्ते विवरण सार्वजनिक गर्ने, नगरपालिकाबाट वितरण गरिने राहत लगायतका सहायता प्रदान नगर्ने, त्यस्तो व्यक्तिलाई नगरपालिकाबाट संचालित योजनाको उपभोक्त समितिमा समाबेश नगर्ने लगायत नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्रदान नगर्ने र कारबाहीको प्रकृया अगाडि बढाउने निर्णय गरेको प्रमूख प्रशासकीय अधिकृत युवराज न्यौपानेले जानकारी दिए ।
बैठकले कोरोना भाइरस (कोभिड–१९) तथा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत वितरण गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न काम गर्ने निर्णय गरेको छ ।