शनिबार, कार्तिक १०, २०८१

लकडाउनकै बिचमा किन कुटिए कर्णालीका जनप्रतिनिधि ?

  
कर्णाली टाइम्स सोमवार, बैशाख २९, २०७७

जगतदल जनाला विक
सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि सरकारले लकडाउन गरेको छ ।
लकडाउनकै अवस्थामा कर्णालीका जनप्रतिनिधि माथि कुटपिटको श्रृङखला पनि बढ्दो छ । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडा अध्यक्ष मान बहादुर भण्डारीको कुटाइबाट बैशाख २७ गते अध्यक्ष बम र उनकी श्रीमती गोरीकला बम घाइते भए । पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा झडप भएको प्रहरीको भनाई छ । घटना घटेको करिब २४ घण्टापछि उपचारका लागि उनीहरुलाई सोमबार हेलिकोप्टरबाट उद्धार गरि प्रदेश अस्पताल सुर्खेतमा ल्याइयो ।
यही बैशाख ९ गते जाजरकोटको जुनीचाँदे गाउँपालिकाको वडा–२ का वडाध्यक्ष रामबहादुर नेपालीे कार्यकक्षमै कुटिए । स्थानीय जयबहादुर नाथ, उनका भाइहरु मेहन्द्र नाथ, सुरेन्द्र नाथ, धनबहादुर नाथ, बिर्खबहादुर नाथ, रेशमबहादुर नाथ र नरु नाथले वडाध्यक्षमाथि मरणासन्न हुनेगरी कुटे । कुटपिटपछि पक्राउ परेका उनीहरुले आफ्नो गाउँमा पानीको योजना नदिएकाले वडाध्यक्षमाथि कुटपिट गरेको बयान दिएका छन् ।
त्यस्तै बैशाख १३ गते जाजरकोटकै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आफ्नै कार्यकर्ताबाट आक्रमण भयो । साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि मलामी गएका मेयर घर्तीलाई सत्तारूढ नेकपाको युवा संघ जाजरकोटका संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण ग¥यो । नेकपाको कर्णाली प्रदेश समितिका सदस्यसमेत रहेका मयेर घर्तीलाई विकासका योजना नदिएको झोकमा शाहीको समूहले आक्रमण गरेको बताइएको छ । आक्रमणपछि मेयर घर्ती घाइते भए ।
आक्रमण गरेको आरोप लागेका चार जनाले बैशाख २८ गते आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । मेयरमाथि आक्रमण गर्ने्विरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेपछि आरोपित चार जनाले आइतबार आत्मसमर्पण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर कुमार श्रेष्ठले आक्रमणका आरोपी युवा संघ जाजरकोटका अध्यक्ष दीपेन्द्र शाही, बुद्धि शाही, सुशील शाही र सुदिप शाहीले जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसर्मपण गरेको जानकारी दिए ।
आरोपीहरु प्रहरीमा उपस्थित भएपछि आवश्यक छानविन प्रक्रिया अगाडि बढाइने श्रेष्ठले बताए ।
बैशाख १७ गते एकैदिन हुम्लाको सर्केगार्ड गाउँपालिका–५ का वडाध्यक्ष कर्णजंग शाही र कालिकोटको पचालझरना गाउँपालिकाको वडा न–१ का वडा अध्यक्ष रत्नलाल न्यौपाने कुटिए । शाही कार्यपालिकाको बैठकमै प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीबाट र न्यौपानेमाथि स्थानीय उमेश न्यौपाने नेतृत्वमा रहेको समूहबाट कुटिए । वडाध्यक्ष शाही र कार्यकारीबीच गतवर्ष वडाको भवन निर्माणको विषयलाई लिएर पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।
वडा अध्यक्ष शाहीले गाउँपालिकाका कर्मचारीहरु हिटलरको जस्तो शासन गर्न थाले भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । यता कालिकोटमा भएको घटनापछि २० वर्षीय पारस न्यौपाने, २१ वर्षीय उमेश न्यौपाने, २२ वर्षिय तिलक न्यौपाने, २० वर्षिय जनक न्यौपाने र १९ वर्षिय कमल न्यौपाने पक्राउ परेका छन् । घाइते वडाध्यक्षको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।
जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायामाथि बैशाख १२ गते कार्यपालिकाको बैठकमै कर्मचारीबाटै दुव्र्यवहार भयो । कर्मचारीबाटै अभद्र व्यवहार भएपछि यपाध्यक्षले कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै रोकायाले उजुरी दिएकी हुन् । अधिकृत बुढाले आफूलाई हैसियत नभएकी, अनपढ, नक्कली उपाध्यक्ष लगायतका अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेको उपाध्यक्ष रोकायाको जाहेरीमा लेखेकी छिन् ।
हालै भएका यस्ता घटनाले मुख्यगरी विकास निर्माण र योजना बाँडफाँडमा हुने विवादले आक्रमण हुने गरेको पाइएको छ ।