शनिबार, कार्तिक १०, २०८१

वडा अध्यक्षबाट कुटिएका गाउँपालिका अध्यक्ष दम्पतीलाई हेलिकोप्टरबाट उद्धार

  
कर्णाली टाइम्स सोमवार, बैशाख २९, २०७७

 सुर्खेत । कालिकोटकाको पलाँता गाउँपालिकामा ढुंगा प्रहारबाट घाइते भएका गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी श्रीमती गोरीकला बमको हेलिकोप्टरबाट उद्धार गरिएको छ । अध्यक्ष बम र सोही गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष मानबहादुर भण्डारी तथा स्थानीबीच शनिबार उपभोक्ता समिति गठनमा विवाद हुँदा ढुंगा हानाहान भएपछि अध्यक्ष दम्पती घाइते भएका हुन् ।
सोही घटनामा अध्यक्ष बम, उनकी श्रीमती गोरीकला, वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर भण्डारी र केही स्थानीय घाइते भएका थिए । झडप भएको करिब २४ घण्टापछि आइतबार साँझ हेलिकोप्टरबाट थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।
घाइतेमध्ये गोरीकलाको टाउकोमा गहिरो घाउ रहेको प्रदेश अस्पतालले जनाएको छ । घाइते गोरीकलाको स्वास्थ्य सुधारोन्मुख रहेको प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डाक्टर केएन पौडेलले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष दाना शाहीका अनुसार घाइतेको उपचारको लागि गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेको हो । उपाध्यक्ष शाहीका अनसार सीडीओको सिफारिसमा हेलिकोप्टर पठाइदिन प्रदेश सरकारलाई अनुरोध गरिएको हो ।
पलाता गाउँपालिका वडा नम्बर २ को ग्रामीण सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्ने विषयमा अध्यक्ष बम र २ नम्बरका वडाध्यक्ष भण्डारीबीच कुरा नमिल्दा ढुंगा हानाहान भएको थियो । अध्यक्ष बम एउटा समूह र वडा नम्बर १ र २ का वडाध्यक्षको अर्को समूहमा विभाजित भएका थिए । अध्यक्ष बमको गालामा चोट लागेको छ वडा नम्बर १ का वडाध्यक्ष शाहीको खुट्टामा घाउ भएको छ ।
अध्यक्ष र वडानम्बर १ र २ का वडाध्यक्ष तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका हुन् । तर पार्टीको एकता प्रक्रियामा आन्तरिक गुट नमिल्दा नेकपा गाउँपालिका कमिटीले लामो समयदेखि गाउँपालिका अध्यक्षको कार्यशैलीप्रति विमति जनाउँदै आएको थियो ।