शनिबार, कार्तिक १०, २०८१

पिसिआर रिपोर्ट ‘पोजेटिभ’ देखिएपछि कन्फर्म गर्न नेपालगन्ज पठाइयो

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ ५, २०७७

सुर्खेत । दैलेखका एक व्यक्तिमा कोरोना परीक्षण पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि नेपालगन्जस्थित प्रयोगशालामा पठाइएको छ । ती व्यक्तिको स्वाब सुर्खेतस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

जेठ १ गते भारतबाट गाउँमा आइपुगेका दैलेखको आठबीसकोट नगरपालिकाका–१ का ती व्यक्ति स्थानीयस्तरमै क्वारेन्टाइनमा बसिरहेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दाङ, सुर्खेत र धनगढीको प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएमा ‘क्रस चेक’ को लागि नेपालगन्ज पठाउन परिपत्र गरेको छ । सोही अनुसार पुनः परीक्षणको लागि स्वाब नेपालगन्ज पठाइएको उनले बताए । ‘आज साँझ वा भोलि बिहानसम्म रिपोर्ट आउँछ होला,’ उनले भने, ‘दुई ठाउँको परीक्षणबाट मात्र ‘कन्फर्म’ भन्न सकिन्छ ।’