शनिबार, कार्तिक १०, २०८१

कालिकोट टिपर दुर्घटना अपडेट :२ जनाको मृत्यु, ३ जना अझै बेपत्ता, २७ जनाको उद्दार

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ २८, २०७७

 

सुर्खेत । कालीकोटमा भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । टिपरमा सवार २७ जना यात्रुलाई उद्दार गरिएको छ । । टिपरमा जम्मा ३९ जना सवार भएको र दुर्घटनाअघि नै केही यात्रु सडकमा हाम्फालेको प्रहरीले बताएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजीवबहादुर बस्नेतका अनुसार दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । ३९ जना सवार रहेको टिपर बुधबार बिहान करिब १०: ४० मा लालीघाटस्थित कर्णाली नदीमा खसेको थियो ।

टिपर चालक २९ वर्षीय रंगनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार धेरै यात्रु चढाएको भनेर चालकसँग यात्रुको भनाभन भएपछि चालक धमला टिपर छोडेर हिँडेका थिए । घटनास्थलबाट भागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोरोना प्रकोपको कारण भारतका विभिन्न ठाउँबाट आएका उनीहरुलाई कालीकोटको रास्कोटस्थित क्वारेन्टाइनमा लगिँदै थियो । टिपरको व्यवस्था पनि रास्कोट नगरपालिकाले गरेको एसपी बस्नेतले बताए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुर्घटनामा परेका घाइतेको उद्धार र बेपत्ताको खोजी गरी उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।