बुधबार, बैशाख १९, २०८१

बोनम्यारो पीडित  शिखालाई कोरियाबाट आर्थिक सहयोग

  
कर्णाली टाइम्स शनिबार, असार १३, २०७७

सुर्खेत । बोनम्यारो पिडीत शिखा कोइरालालाई कोरियाबाट आर्थिक सहयोग गरिएको छ । दैलेख स्थाई घर भई हाल सुर्खेत बस्दै आएकी पिडीत कोइरालालाई कोरियास्थित सीता शर्माको सक्रियतामा आर्थिक सहयोग गरिएको हो ।

कर्णाली प्रदेशलगायत देशभरबाट राेजगारिकाे शिलशिलामा काेरियामा रहेका नेपालीको ऐक्यवद्धताद्वारा एक लाख ४४ हजार ४ सय ७ नेपाली रुपैयाँ सहयोग गरिएको हो । उक्त रकमको ‘डिपोजिट भौचर’ काँक्रेविहार दैनिकका सम्पादक सुशीलराज शर्माले शनिबार कोइरालाको परिवारलाई हस्तान्तरण गरेका हुन् । भाैचर हस्तान्तरण गर्दै सम्पादक शर्माले आपतविपदकाे बेला सहयाेग गर्ने नेपालीकाे संस्कार भएकाले काेरियामा बस्ने नेपालीले काेराेनाकाे महविपतिमा महादान गरेर महान काम गरेकाे बताए ।
बोनम्यारो ट्रान्सप्लान्ट गर्न रकम अपुग हुने खबर प्राप्त भएपछि शिखाको जीवन रक्षाको लागि हातेमालो गरिएको सीता शर्माले जानकारी दिईन् । शर्माका अनुसार नेपालबाट कामकाे शिलशिलामा त्यहा पुगेका ६२ जना नेपालीले  सहयाेग गरेका हुन् ।

मानविय सहयाेगका लागि एकजुट भएकाे सुर्खेत समाज दक्षिण काेरियाका कावा अध्यक्ष पुष्कर बुढाथाेकिले बताए । समाजले यस अघि पनि विभिन्न जिल्लामा अप्ठेराेमा परेकालाई सहयाेग गर्दै आएकाे छ ।
शिखा १८ वर्ष हुँदा उनलाई ब्लड क्यान्सर भएको थियो । उनको ६ महिनाको उपचारपछि निको भएको परिवार स्रोतले जनाएको छ । उनि अहिले २२ वर्षकी भइन् । उनलाइ पुनः ब्लड क्यान्सर बल्जेपछि मंसिर महिनादेखि काडमाण्डौंस्थित सिभिल हस्पिटलको बेड नं. २२९ मा बोनम्यारो उपचाररत् छन् ।

‘यही असार १४ गते बोनम्यारो ट्रान्सप्लान्ट हुँदैछ ।’ शिखाको बुवा झलक कोइरालाले भने, ‘शिखाकी बहिनी कल्पना कोइरालाको बोनम्यारो मिल्ने भएपछि ट्रान्सप्लान्ट हुने भएको हो ।’

शिखाको बोनम्यारो प्रत्यारोपणका लागि हालसम्म ९ लाख भन्दा धेरै रकम खर्च भैसकेको झलक कोइरालाले जानकारी दिए । ‘प्रत्यारोपण हुने दिन न्युनतम् १० लाख खर्च हुनसक्ने अनुमान गरिएको छ ।’ झलक कोइरालाले भने, ‘भएजति आर्थिक सकियो । हाल उक्त रकम अभाव भएको छ । सहयोगी हातहरु जुटिरहेका छन् ।’

शिखाको जीवनरक्षाका लागि सहयोग गरिदिन समेत विभिन्न संघ, संस्था तथा व्यक्तिहरुसँग परिवारले अपील गरेको छ ।