शुक्रबार, जेष्ठ ४, २०८१

लकडाउनमा घरभाडामा छैन छुट

  
जगतदल जनाला विक आइतवार, असार १४, २०७७
भाडा नतिरेकाे भन्दै काेठाबाट निकालिएपछि छाेरीसँगै घरकाे सिढिमुनी बसेकी बराहतालकी दुर्गा सुनार

सुर्खेत । वीरेन्द्रनगर–४ मा बस्दै आएका गोरख विकलाई घरधनीले पटकपटक भाडाका लागि ताकेता गरेपछि उनले बैशाख महिनाको भाडा ऋण मागेरै भए पनि तिरे । दैलेखबाट अध्ययनका लागि वीरेन्द्रनगर आएका उनी लकडाउन भएपछि डेढ महिनासम्म घरमा बसेर दैलेख फर्केका थिए । ‘लकडाउन भएपछि जेठमा स्कुलको बिदा भयो, त्यसपछि घरतिर गएँ,’ उनले भने, ‘फर्केपछि फुपुसँग ऋण मागेर भाडा तिरें, अहिले फुपुको घरमा बस्दै आएको छु ।’

सुर्खेतको बराहताल–३ स्थायी घर भएकी दुर्गा सुनार वीरेन्द्रनगरमा दैनिक ज्याला मजदुरी गर्छिन् । नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनका कारण दुर्गाले काम पाइनन् । दैनिक काम गरेर चार/पाँच सय कमाएर ६ वर्षीय छोरी आरोसी र आफुलाई गुजारा चलाउने उनी मासिक १५ सय रुपैयाँ कोठा भाडा तिर्न नसक्दा कोठा छोडेर एक महिना अर्काको घरको सिढीमुनी बसिन् । सिढीमुनी बसेको जानकारी पाएपछि उनका घरपरिवारले उनलाई बराहताल घर फिर्ता लिएर गए । ‘लकडाउनका कारण काम गर्न पाइएन, घरभेटीले बारम्बार भाडा माग्न थालेपछि कोठा छोडेर निस्किएँं,’ दुर्गाले भनिन्, ‘एकजना सर (इन्द्रजित सुनार) यहीँ खाली छ भनेर सिढीमा बस्न दिनुभयो, एक महिना बसेपछि गाउँमा आएँ ।’

यी दुई प्रतिनिधिपात्र हुन् । लकडाउनको कारण रोजगारी र मजदुरी गुमाएर आम्दानीविहीन भएका व्यक्तिहरुलाई घरधनीले भाडामा अलिकति पनि छुट नदिँदा उनीहरुको बिजोग भएको छ । गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले घरभाडा नलिन अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले घरभाडा मिनाहा गर्ने घरभेटीको घर बहाल करसमेत छुटको घोषणा गरेको थियो । वीरेन्द्रनगर नगरपालिकाले पनि घरभाडा नलिन वीरेन्द्रनगरबासी घरधनीहरुलाई अनुरोध गरेको थियो । घरधनीले भने सरकारको अनुरोधअनुसार छुट दिएका छैनन् ।
कतिपय घरबेटीले सामाजिक सञ्जालमार्फत आफूले भाडा नलिने घोषणा गरिरहे पनि गोरख र दुर्गाजस्ता अधिकांश घरमा भने बहालमा बस्नेले भाडा तिरिसकेका छन् । कतिपयले अग्रिम भाडा तिर्ने गरेकाले असार महिनाको समेत भाडा तिरिसकेका छन् । वीरेन्द्रनगरका उद्योगी, व्यवसायी र सरकारी उच्च तहका कर्मचारीले समेत मजदुर र दैनिक ज्यालादारीबाट घरभाडा धमाधम असुलेका छन् ।

वीरेन्द्ननगर बजार

कोरोना भाइरसको कहरसँगै ‘लकडाउन’ का समयमा फ्रन्टलाइनमा रहेर नियमित काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसमेत आफूले भाडा तिरेर पनि बस्न कठिन भएको बताउँछन् । फ्रन्टलाइनमा रहेर काम गर्नेलाई कोभिड–१९ को संक्रमण फैलिने भन्दै घरबेटीले नराम्रो व्यवहार गर्ने गरेको गुनासो आइरहेको छ ।

आफूलाई चार पटकसम्म ताकेता गरेपछि सापटी मागेर भए पनि भाडा बुझाएको सञ्चारकर्मी तिलराज विकले बताए । अहिले भन्नासाथ कोठा खोजेर पनि नपाइने हुँदा सापटी मागेरै भए पनि भाडा बुझाउन बाध्य भएको उनको भनाइ छ । उनले भने, ‘अहिलेको समयमा भाडामा किचकिच गर्नुभन्दा चुप लागेर भाडा दिएर काम गर्नु नै ठीक हो ।’

केही घरबेटीले मात्रै आफ्नो घरमा बस्नेलाई छुट दिएको पाइए पनि धेरै घरबेटीको आफ्नो आम्दानीको अरु स्रोत नभएको वा आफूलाई पनि गाह्रो पर्ने भन्दै छुट दिन नमानेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । सरकारले कम्तीमा ‘लकडाउन’ का कारण रोजगारी गुमाएका व्यक्तिलाई छुट दिन निर्देशन दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले मजदुर, विद्यार्थी र नियमित तलब नभएकालाई भाडा छुट गर्नुपर्छ भनेर हामीले अनुरोध गरेका हौं ।’ वीरेन्द्रनगर नगरपालिकाले गरेको अनुरोधमा केही घरबेटीले भाडा छुट गरेको बताउँदै बहाल कर छुट गरिदिन नगरमा निवेदन समेत दिएको उनले बताए । सरकारले अहिले भाडा छुटका लागि अनुरोध मात्रै गरेकाले पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । सरकारले निर्देशिका बनाएर निर्देशन दिएर कार्यान्वयन गर्दा प्रभावकारी हुने उनले बताए ।

घर बहालमा बस्ने सबै व्यक्तिलाई छुट दिनुपर्छ भन्ने होइन । निश्चित मापदण्ड बनाएर आम्दानीको आधारमा विपन्नलाई छुट दिनुपर्छ सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावत बताउ“छन् । कतिपय उच्च ओहोदामा बस्ने र नियमित तलब आउनेलाई समस्या नपरे पनि अन्य विपन्न तथा मजदुरलाई भाडा छुट नहुँदा कर्णालीमा धेरैलाई समस्या परेको उनको भनाइ छ । ‘कतिपय घरवेटीको आम्दानीको अन्य स्रोत हुँदैन, आर्थिक अवस्था पनि कमजोर हुन्छ, त्यस्तालाई पुरै भाडा मिनाहा गर भन्न मिल्दैन,’ उनले भने, ‘घरवेटीले पनि आफ्नो हैसियत हेरेर भाडा छुटमा विचार गर्नुपर्छ ।’

घरधनीहरु भने भाडाबाटै घर बनाउँदा लागेको ऋणको किस्ता तिर्नुपर्ने हुँदा भाडा छुट गर्न नसकिएको बताउँछन् । ‘ऋण गरेर घर बनायौं, हरेक महिना किस्ता तिर्नपर्छ,’ वीरेन्द्रनगर–४ कि कुन्ती शाहीले भनिन्, ‘त्यसैले मन हुँदाहुँदै पनि घरभाडा छुट गर्न सकेका छैनौं ।’ सरकारले बैंक किस्तामा छुट गरेमा घरभाडा पनि छुट गर्न सकिने उनले बताइन् ।

यो स्टोरी फ्रिडम फोरमको सहकार्यमा तयार पारिएको हो ।