बुधबार, बैशाख १९, २०८१

पहिरोबाट बारेकोटका १ हजार ४५ घरधुरी विस्थापित, झण्डै ९ करोडको क्षति !

  
जगतदल जनाला विक आइतवार, साउन ११, २०७७
अर्थ, प्राकृतिक स्रोत तथा साधन व्यवस्थापन समितिका सभापति एवम् प्रदेश सांसद गणेशप्रसाद सिंह बारेकोट घटनाका बारेमा पत्रकारहरुलाई जानकारी दिंदै ।

सुर्खेत। यहि असार २५ गते जाजरकोट गाउँपालिकाको बारेकोटमा गएको पहिरोबाट वडा नम्बर ४ को गोठगाउँ, जिरी र सार्की टोल, ५ नम्बर वडाको कालाखोली पाखा, ६ को धुमलगायतका क्षेत्रका एक हजार ४५ घरधुरी विस्थापित भएका छन् । पहिरोबाट ८ करोड ८८ लाख ८६ हजार ४ सय बराबरको आर्थिक क्षति भएको छ ।

प्रदेश सभाको अर्थ, प्राकृतिक स्रोत तथा साधन व्यवस्थापन समितिका सभापति एवम् जाजरकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद गणेशप्रसाद सिंहले आइतबार पत्रकार सम्मेलनमा घटनास्थलको विस्तृत जानकारी गराउँदै प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

‘म आफै त्यहाँको सबै ठाउँमा पुगेका छु । बारेकोटकोे अवस्था हेर्दा दयनीय छ । विश्व खाद्य कार्यक्रमले केही राहत दिएको छ, हामीले केहि राहत लिएर गएका थियौं, त्यो पर्याप्त छैन,’ उनले भने, ‘१ हजार ५५ घर परिवार विस्थापित बनेका छन् ।’
पहिरो गएकोे भोलिपल्टै घटनास्थलतर्फ गएका सांसद सिंहले बारेकोट गाउँपालिकाले क्षति विवरण संकलन गरिसकेको बताए ।

पहिरोले ५५ घर पूर्ण रूपमा क्षति गरेको छ भने ४२३ घर चर्केका छन् । पहिरोको उच्च जोखिममा ४७७ घर रहेका छन् भने जोखिममा १९७ घर रहेका छन् । घटनामा परी १४ जनाको मृत्यु भएको छ । दुई युवा अहिले पनि बेपत्ता छन्, ।

प्रदेश सरकारले मृत्यू भएका परिवारलाई राहत दिने भनेर भनेपनि लिखित रूपमा निर्णय गरेको छैन । मृत्यु भएका परिवारलाई गाउँपालिकाले क्रिया खर्च भनेर २५ हजार उपलब्ध गराएको छ । घटना घटेको १७ दिन पुग्दा पनि प्रदेश सरकारले राहत र उनीहरूको व्यवस्थापनका लागि नलागेको पहिरो पीडितको गुनासो रहेको सांसद सिंहले बताए ।

पहिरोले घर भत्किँदा बारेकोटमा ६ करोड ४८ लाख १७ हजार क्षति भएको अनुमान गरिएको छ । त्यस्तै १ करोड ३६ लाख ४४ हजार ४ सय बराबरको शौचालयमा क्षति पुगेको छ ।

  ४१ लाख ८० हजार बराबरको खानेपानी संरचना बगेको पाइएको छ, यी सहित अन्य केही गरी ८ करोड ८८ लाख ८६ हजार ४ सय बराबरको आर्थिक क्षति भएको छ ।

स्थलगत अवलोकन गर्दा स्थिति दयनीय रहेको बताउँदै सांसद सिंहले नागरिकको जिउधन रक्षा गर्नका लागि उपयुक्त स्थानमा बसाईं सार्न आवश्यक देखिएको सुझाव दिए ।