शुक्रबार, बैशाख २१, २०८१

‘होम आइसोलेसन’ बसेर निको भएकी सजनाको कोरोना–अनुभव (भिडियो कथा)

  
जगतदल जनाला विक बुधबार, साउन २८, २०७७

सुर्खेत । सजना सुनार ‘बालिका बचाउ अभियान’ की संयोजक हुन् । ७ वर्षदेखि सामाजिक कार्यमा सक्रिय उनले विभिन्न अभियानमार्फत काम गर्दै आएकी छन् । संसारभर फैलिएको कोरोना संक्रमणको चपेटामा उनी पनि परेकी छिन् । आइसोलेसन र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई मानसिक चिन्ताबाट टाढा राख्न र उत्प्रेरणा दिन सांगीतिक कार्यक्रम लिएर जाने क्रममा उनी कोरोना संक्रमित भएकी थिइन् । उनी होम आइसोलेसनमै बसेर निको भएकी छिन् ।

क्वारेन्टाइनन र आइसोलेसनमा मान्छेहरु भरिन थालेपछि उनीहरुमा कोरोना त्राससँगै मानसिक चिन्ता पनि बढ्दै गयो । सजना टिमसहित पुगेकी थिइन् । ‘यसरी अभियानमा जाँदा जोखिम हुनसक्छ भनेर घरमा आफ्नो कोठासमेत छुट्टै राखेर परिवारसँग पनि कुनै सम्पर्क गरिनँ,’ उनले भनिन्, ‘तर अभियानमा हिँड्दै गर्दा मसहित अन्य ३ जना साथीहरुलाई कोरोना देखियो ।’

टिमका साथीहरुसँग सजना सुनार (बायाँबाट चाैथाे)

क्वारेन्टाइनन र आइसोलेसनमा जाँदा जोखिम हुन्छ एक न एकदिन आफुहरु कोरोना पोजेटिभ देखिन सक्छौं भनेर अनुमान भएका कारण पनि उनीहरुले घरमा अलगै कोठा बनाएका थिए । पोजेटिभ देखिएपछि पनि त्यही कोठालाई आइसोलेसन बनाएर ट्वाइलेट, भान्सा सबै अलगै बनाएका थिए ।

यसरी अलग्गै आइसोलेसन बनाएर बसे पनि समाजका केही व्यक्तिहरुले संक्रमणको जोखिम बढ्छ भन्दै ५/६ दिन घरकै आइसोलेसनमा बसे पनि पटक–पटक सरकारी आइसोलेसनमा जान दबाब दिएको सजना बताउँछिन् । ‘होम आइसोलेसन सुरक्षित छ, सबै सुविधा छ भने कोरोना पोजेटिभका लागि त्यो नै अति उपयोगी छ,’ उनले भनिन्, ‘मानसिकरुपमा पनि चिन्ता हुन्न, बेसारपानी तातोपानी र खाने कुरा पनि आफुलाई चाहिएको बेला पाइन्छ ।’

सुरक्षित भएर होम आइसोलेसन बस्दा उनी बाहेक परिवारका अरु कसैलाई पनि कोरोना देखिएन । उनी एकपटक कोरोना पोजेटिभ भएर कोरोना मुक्त भए पनि समाजले उनकोे घरलाई सधैंभरी कोरोना पोजेटिभका भनेर सोच्ने गरेको उनको नमिठो अनुभव छ । ‘म कोरोना पोजेटिभ भएर पनि सञ्चो भइसकें, तर पनि समाजले अझै पनि म र मेरो घरलाई कोरोना पोजेटिभ देखेको छ,’ उनले भनिन्, ‘मेरो घरछेउ मानिसहरु हिँड्दैनन्, नगरपालिकाको फोहोर ल्याउने गाडीले समेत फोहोर ल्याउन मान्दैन ।’ कुनै पनि रोगबाट निको हुन सजिलो भए पनि समाजको मानसिक चेतनाबाट निको हुन नसक्दा समाजका यस्ता थुपै्र व्यक्तिहरुले सास्ती भोग्नु परेको सुनारको भनाइ छ ।