शनिबार, बैशाख १५, २०८१

‘बसौं सुरक्षित बास छैन, खाउँ एकछाक गास छैन’

  
जगतदल जनाला विक शुक्रबार, भदौ २६, २०७७
पवित्रा र उनका श्रीमान् घरको आगनमा ।

सुर्खेत।  वीरेन्द्रनगर नगरपालिका –५ को कालिका मन्दिर पछाडी एउटा सानो टोल छ ।

त्यहि टोलको पुच्छारमा पावित्रा नेपालीको परिवार माटो र काठले बारेको सानो एकछाने घरभित्र बस्छन् । घरभित्र पानीका मुल फुटेका छन् । चारैतिरबाट पहिरोले जमिनलाई चिरा पारेको छ । ठुलो पानी परेपछि घरलाई पहिरोले पुर्ने निश्चित जस्तै देखिन्छ । नजिकै जिल्ला कारागारको कार्यालय पनि छ । चारैतिर अग्ला दिवाल र सुरक्षाकर्मीले घेरिएका कारगारभित्रका कैदीबन्दीहरुका पनि आफ्नै पिडा त होलान् ।

तरपनि उनीहरुले भोको बस्नु पर्दैन, सरकारले सबै कुराको व्यवस्था मिलाएको छ । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । स्थानीय र प्रदेश सरकार नजिकै भएपनि पवित्राको वेदना सुनिदिने कोही छैन ।

प्रदेश र स्थानीय सरकार नजिकै भएको वीरेन्द्रनगरमान पवित्राको परिवार भने महिनौंदेखि भोकै बस्दै आएको छ ।
लकडाउन अगाडी पार्वतीले काम गर्थिन उनका श्रीमान् हर्क नेपाली वीरेन्द्रचोकमा कपडा पसल अगाडी मेसिन राखेर कपडा सिलाउने गर्थे । जसो तसो ६ जनाको परिवारलाई पालेका थिए । अलिकति घरखर्च पनि चल्थ्यो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका लकडाउन, निषेधाज्ञा लगायतका कारण कारण बजार बन्द भए पार्वती र उनका श्रीमान् दुबैको काम छुट्यो । उनका श्रीमान् पनि बिरामले थला परे । बिरामी भएको करिब १५ दिनपछि गाउँमा सापटी मागेर भएपनि प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि लिइयो । स्वासप्रस्वास र छातीमा उनको समस्या रहेछ । लामो समयसम्म अस्पतालमैं राखी औषधी सेवन गर्नुपर्छ भनेर चिकित्सकले सल्लाह दिए ।

गाउँबाट सापटी लिएको दुई, चारहजार रुपैयाँ उपचारमैं सकियो । फेरि उपचार गर्न गाउँभरी ऋण खोज्दै पवित्राले धाइन् तर उनको आर्थिक अवस्था र जग्गा जमिन नभएकै कारण कसैले पत्याएनन् । ऋण नपाएपछि श्रीमान्लाई घर पर्काउन बाध्य भइन् उनी ।
उपचारका लागि श्रीमान्ले चलाउँदै आएको कपडा सिलाउने मेसिन बिक्री गर्न खोज्दा पनि कसैले किनेने । अस्पतालमा उपचार गर्नुपर्ने उनका श्रीमान् हर्क अहिले घरमा मृत्युसँग लडिरहेका छन् ।

पवित्राका श्रीमान् बिरामी हर्क ।

‘घरवरिपरी पहिरोले चिरेको छ, भित्र मुल फुटेका छन्, चारदिन भयो भोकै बसेको,’ पवित्राले भनिन्, ‘बसौं सुरक्षित बास छैन, खाउँ गास छै, श्रीमान्को उपचार गर्नका लागि कमाई खाने एक मात्र साहारा यहि मेसिन बेच्न खोज्दा कसैले लगीदिँदैनन् ।’

उनले नगरपालिकाबाट दिएको १३ किलो चामलले एक हप्ता पनि खान नपुगेपछि एकमहिनासम्म गाउँमा चामल माग्दै हिँडेपछि आजभोली गाउँका मान्छेले पनि दिन छोडेकोे गुनासो गरिन् । अलिअलि कुटेको गिट्टी समेत बिक्रि भएपछि र नियमित पाए आफ्नो गुजरा चल्ने बताइन् ।
चारदिनसम्म भोकै भएको थाहा पाएपछि सुर्खेतका समाजसेवी तथा कालाकार हरि विष्टले एक प्याक चामल, दाल, नुन र तेल सहयोग दिएर गएको बताइन् । विष्टले उनीहरुको स्वास्थ्य बिमा गरिदिने प्रतिवद्धता गरेको जानकारी दिइन् ।

पहिरोको जोखिममा रहेको पवित्राको घर ।

यस्तै गिट्टी कुटेर दैनिकी चलाउने भएपनि नियमित काम नपाउँदा साँझ बिहानको छाक टार्न समेत मुस्किल परेको पुर्णा नेपालीले बताइन् ।
उनीसँगै यो टोलमा बसोबास गर्ने १५० घरधुरीकोे अवस्था पनि दयनीय बन्दै गएको छ ।

प्रधानमन्त्री, मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका लक्षित कार्यक्रमले यस्तो समुदायहरुलाई समेट्न नसकेको उनीहरुको गुनासो छ ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेटमध्ये कोरोनाका कारण रोजगारी गुमाएकाहरूका लागि श्रम सहितको राहत दिने गरी १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।