शनिबार, कार्तिक १०, २०८१

आन्तरिक उडानका लागि आवश्यक सुरक्षा मापदण्डको तयारी पूरा

  
कर्णाली टाइम्स बुधबार, भदौ ३१, २०७७

सुर्खेत। आन्तरिक उडान सञ्चालन गर्न सुर्खेत विमानस्थलमा आवश्यक सुरक्षा मापदण्डको तयारी पूरा गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन विमानस्थलमा आवागमन र प्रस्थान कक्षमा चिन्ह लगाइएको छ भने स्वचालित सेनिटाइजरको समेत व्यवस्था गरिएको हो ।

न्यूनतम एक मिटरको दूरी कायम गर्दै आवागमन र प्रस्थान कक्षमा चिन्ह लगाउने काम सम्पन्न गरिएको सुर्खेत नागरिक उड्यन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए ।

उनले सामाजिक दूरी कायम गरेर यात्रु प्रवेश गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, रुघाखोकी लागेको यात्रुहरु जान नपाउने, स्यानिटाइजर प्रयोग गर्नुपर्नेसहितको सुरक्षा मापदण्ड सुर्खेत नागरिक उड्यन कार्यालयले तोकेको जनाए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सामाजिक दुरी कायम गरेर मात्रै यात्रुहरुलाई प्रवेश गराउने व्यवस्था कार्यालयले गरेको पन्थीको भनाई छ । विमानस्थलमा हेल्थ डेस्क स्थापना गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेको छ ।