शुक्रबार, बैशाख २१, २०८१

कर्णालीमा मुख्यमन्त्री शाही पक्षले कात्तिक ७ गतेका लागि डाक्यो संसदीय दलको वैठक

  
कर्णाली टाइम्स सोमवार, असोज २६, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएको छ । आइतबार नेकपाका १८ सांसदले संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सोमबार शाहीले नयाँ कदम चालेका छन् ।
उनले प्रस्ताव दर्ता गर्ने र मंगलबारका लागि बैठक डाक्ने संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन् । उनको ठाउँमा आफूनिकट सांसद सीता नेपालीलाई जिम्मेवारी दिएका छन् । शाहले आइतबार राति नै मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकेका थिए ।
संसदीय दलका नेता शाहीले शाहलाई आइतबारकै मिति राखेर पदमुक्त गरेको पत्र थमाएका छन् ।
नवनियुक्त प्रमुख सचेतक नेपालीले शाहले डाकेको भोलिको बैठक खारेज गरिदिएकी छन् । ‘अब कात्तिक ७ गते बिहान ११ बजे बैठक बस्छ,’ नेपालीले भनिन् । संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको १५ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ ।
अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले भने संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै शाही संसदीय दलको नेताबाट निलम्बन भइसकेकाले उनले प्रमुख सचेतकलाई हटाउने र नयाँ नियुक्त गर्न नसक्ने तर्क गरेका छन् ।
कर्णालीमा चुलिएको विवादको तरंग नेकपाको केन्द्रीय तहसम्म पुगेको छ।
सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कर्णालीको समस्या प्रधानमन्त्री ओलीले गर्नुपर्ने बताएका छन् ।
प्रदेश सभामा रहेका ओली पक्षीय नेताहरूले भने केन्द्रले हस्तक्षेप गरे त्यो संघीयताको मर्मविपरीत हुने तर्क गरिरहेका छन् ।

सेताेपाटीबाट