शुक्रबार, बैशाख २१, २०८१

मंगलवार कर्णालीमा थपिए १३१ जना कोरोना संक्रमित

  
कर्णाली टाइम्स मंगलबार, असोज २७, २०७७


सुर्खेत । मंगलबार कर्णाली प्रदेशमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४८९ जनाको पिसीआर परीक्षण गरिएकोमा १३१ जनामा कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो अहिलेसम्म कर्णालीमा थपिएका संक्रमितको संख्यामध्ये धेरै हो ।
मंगलवार थपिएकामध्ये सुर्खेतका मात्र १०७ जना छन् । यस्तै दैलेखका ३ जना, जुम्लाका ५, कालिकोटका ६, हुम्लाका २ जना छन् भने अन्य प्रदेशका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवरा कँडेलले जानकारी दिए ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ६५१ पुगेको छ । जसमध्ये ३ हजार ५३१ जना निको भएर डिस्चार्ज भईसकेका छन् । कँडेलका अनुसार पछिल्लो २४ घण्टामा ७९ जना डिस्चार्ज भएका छन् ।
अब प्रदेशभर ९६१ जना सक्रीय संक्रमित छन् । जसमध्ये सबैभन्दा धेरै सुर्खेतमा ८०९ जना छन् । दैलेखमा ४७ जना, जाजरकोटमा २, सल्यानमा ३४, रुकुम पश्चिममा २९, जुम्लामा १०, कालिकोटमा २२, हुम्ला र मुगुमा ४/४ जना सक्रीय संक्रमित रहेको महाशाखाले जनाएको छ । हाल डोल्पा भने कोरोना संक्रमणमुक्त जिल्लाका रुपमा छ ।