बुधबार, बैशाख १९, २०८१

संक्रमणदरमा दैलेखलाई सुर्खेतले उछिन्यो, यस्ता छन् कारण

  
कर्णाली टाइम्स शनिबार, कार्तिक १, २०७७


सुर्खेत । कर्णालीमा प्रदेशमा बढ्दो रुपमा रहेको कोरोना कहरबीच कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा संक्रमण दर अन्य जिल्लाको भन्दा धेरै छ । केही समय अघिसम्म दैलेखमा संक्रमण दर धेरै थियो । करिब दुई महिना अघिबाट सुर्खेतले दैलेखलाई उछिनेको छ ।
शुक्रबारसम्म सुर्खेतका २०८२ जनामा कोरोना संक्रमण भएको छ । दैलेखमा भने १ हजार २८८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण दरका हिसाबले अहिले तेस्रोमा सल्यान छ । हालसम्म सल्यानमा ४६१ जनालाई कोरोना संक्रमण भएको छ ।
यस्तो छ कारण
सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकाले पनि संक्रमण दर बढिरहेको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेका अनुसार यहाँबाट आवतजावत गर्ने क्रम धेरै भएकाले संक्रमणदर धेरै देखिएको हो । पिसीआर परीक्षण पनि पनि अन्य जिल्लाको भन्दा धेरै भएकाले सुर्खेतमा संक्रमण दर उच्च बनेको हो ।
‘सामान्यतया जहाँको धेरै पिसीआर परीक्षण हुन्छ, त्यहीँ दर पनि बढ्ने हो,’ वाग्लेले भने, ‘यसका अलावा सुर्खेतमा कोरोना संक्रमण दर धेरै देखिनुमा अरु पनि कारण छन् ।’ उनका अनुसार कोरोना संक्रमणको दर बढ्दै जाँदा लकडाउन खुल्नु, अन्त भन्दा स्वास्थ्य संस्थाहरु सुर्खेतमा हुनु, कर्णालीसँगै सुदूरपश्चिमका जिल्लाहरुका मानिसको आवागमन सुर्खेतबाटै हुनु जस्ता कारणले यहाँ संक्रमण दर उच्च बनेको हो ।
उनले जतिसुकै प्रयास गरेपनि ठूला शहरहरुमा कोरोनाको संक्रमण दर धेरै हुनु स्वभाविकै भएको बताए । वाग्लेका अनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना संक्रमण फैलिएसँगै सुर्खेतको समग्र संक्रमणदर बढेको हो । ‘राजधानी भएकाले यहीँ धेरै स्वास्थ्य संस्था पनि छन्, जहाँ उपचार गराउन अरु ठाउँका संक्रमित पनि आउँछन्,’ उनले भने, ‘उनीहरुबाट स्वास्थ्यकर्मीमा सर्छ, स्वास्थ्यकर्मीबाट नै थाहै नभएर अरुमा सर्छ ।’
अहिलेसम्म ८२ हजार भित्रिए
कर्णाली प्रदेशका १० वटै जिल्ला र केही सुदूरपश्चिमका जिल्लामा पुग्न र बाहिरिनका लागि सुर्खेतको वीरेन्द्रनगर प्रवेशद्वारका रुपमा छ । सुर्खेतका संक्रमितमध्ये ५७९ जना वीरेन्द्रनगरका मात्र छन् ।
सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार लकडाउन भएयता ८२ हजार १२३ जना मानिस विभिन्न ठाउँबाट कर्णाली भित्रिएका छन् । जसमध्ये भारतबाट ६२ हजार ६५३, तेस्रो मुलुकबाट १ हजार २७ जना र अन्य प्रदेशबाट १८ हजार ४४३ जना भित्रिएका छन् ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ४ हजार ९२५ रहेको छ । जसमध्ये ३ हजार ७६० पुरुष छन् भने १ हजार १६५ जना महिला छन् । उमेरका आधारमा सबैभन्दा धेरै २० देखि २९ बर्ष उमेर समुहका संक्रमित छन् । यो उमेर समुहका १ हजार ८८६ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको शुक्रबारसम्मको तथ्याङ्क अनुसार जुम्लाका २६०, कालिकोटका २१०, रुकुम पश्चिमका १५२, जाजरकोटका ८८, हुम्लाका २६, मुगुका २० र डोल्पाका १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
कर्णाली प्रदेशका कुल संक्रमितमध्ये ३ हजार ६७८ जना (२५.१ प्रतिशत) डिस्चार्ज भएका छन् । अब १ हजार २३५ जना सक्रीय संक्रमित छन् । हालसम्म १३ जना (०.२ प्रतिशत) को कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सुर्खेतका ६ जना छन् भने दैलेखका ५ जना छन् । डोल्पा र बाँकेका एक/एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा हालसम्म ८३ हजार ६६ जनाको पिसीआर परीक्षण गरिएको छ ।