बुधबार, बैशाख १९, २०८१

महामन्त्री खड्काकाे प्रश्न : विपदकाे बेला खोई प्रधानमन्त्री ?

  
कर्णाली टाइम्स आइतवार, कार्तिक २, २०७७

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सिङ्गो देश महामारीले आक्रान्त रहेको बेला सरकार कुम्भकर्ण निद्रामा रहेको बताएका छन् । आइतबार महामन्त्री खड्काले ट्वीटरमार्फत बिपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री भन्दै प्रश्न उठाएका हुन् ।

आन्तरिक धन्दामा व्यस्त सरकारलाई जनता र देशको चिन्ता नभएको महामन्त्री खड्काको आरोप छ । उनले लेखेका छन्, ‘कोभिडको महामारीले सिङ्गो देश आक्रान्त छ, सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक धन्दामा व्यस्त छ । न जनताको चिन्ता छ, न त देशको नै । यो बिपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री ? खोई सरकार ?’

विपत्तिका बेला जनता भरोसाको सन्देशसमेत दिन नसकेको उनको भनाइ छ । ‘न जिम्मेवारिबोध छ, न जनतालाई कुनै भरोसाको सन्देश छ,’ उनले लेखेका छन् । सरकारको यो मौनता दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।