शुक्रबार, बैशाख २१, २०८१

सिटी बसपार्क भित्रका सटरको भाडा समायोजन गर्न व्यवसायीको माग

  
कर्णाली टाइम्स शुक्रबार, कार्तिक २१, २०७७

सुर्खेत । वीरेन्द्रनगरमा निर्माण गरिएको सिटी बसपार्कभित्र व्यापारिक प्रयोजका लागि तयार पारिएका सटरहरुको भाडा समायोजन गर्न व्यवसायीहरुले माग गरेका छन् । बजारको भन्दा बसपार्कभित्रका सटरहरुको भाडा महँगो भएको भन्दै समायोजनका लागि व्यवासयीहरुले वीरेन्द्रनगर नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
सिटी बसपार्कका रुपमा उक्त बसपार्क स्तरोन्नति हुनुअघि सोही ठाउँमा व्यवसाय गगरेका ५४ जना व्यवससायहीहरुलाई प्राथमिकतामा राखेर भाडा निर्धारण गर्नुपर्ने बसपर्क टोल विकास समितिले माग गरेको छ ।
नगरपालिकाले बनाएको बसपार्क सञ्चालनसम्बन्धी कार्यविधि विपरित र ठेकेदार कम्पनीले एकपक्षीय रुपमा भाडा निर्धारण गरेको उनीहरुले गुनासो गरेका छन् । उक्त बसपार्कभित्रका व्यापारिक प्रयोजनका लागि बनाईएको सटरहरु सञ्चालनका लागि भक्तपुरको पीआर कन्स्ट्रक्सनलाई मासिक ३१ लाख १५ हजार रुपैयाँ भाडा तिर्नेगरी ठेक्का पाएको छ ।
सञ्चालन जिम्मा पाएको कप्मनीले एउटा सटरको ३० हजारदेखि ५० हजार रुपैयाँसम्म भाडा तोकेपछि व्यवसायीहरुले आफूहरु मारमा परेको भन्दै समायोजनको माग गरेका हुन् । स्थानीय व्यवसायीहरुले एउटा सटरको मुल्य ५ हजारदेखि बढीमा १५ हजार रुपैयाँसम्म हुनुपर्ने माग गरेका छन् ।
सञ्चालन जिम्मा पाएको पीआर कन्स्ट्रक्सनले कात्तिक ६ गते सूचना जारी गरी बसपार्क भित्र बनेका कच्ची टहराको भाडादर निर्धारण गरेको हो । अहिलेको बजारको प्रचलित मुल्यभन्दा धेरै भाडादर कायम गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
बसपार्क टोल विकास समितका अध्यक्ष ईन्द्र बहादुर थापाले बसपार्क सञ्चालन कार्यविधि विपरित निकालिएको सूचना तत्काल रद्ध गर्न नगरपालिकाको ध्यानाकर्ष गराए । ‘चलनचल्तीको दरभन्दा चार गुणा महँगो भाडादर कायम गरेमा व्यवसायीहरु बस्न सक्ने अवस्था आउँदैन,’ उनले भने, ‘तत्काल भाडा समायोजन गरी अर्को सूचना जारी गरियोस् ।’
२.८ मिटर चौडाई र ४ मिटर लम्बाई गरि ११ वर्गमिटर क्षेत्रफल भएको घुम्ती जस्ता सटरको मुल्य ५० हजार तोकिनु सम्बन्धित स्थानीय तहको गैरजिम्मेवारपन भएको उनले बताए । उनले बसपार्क निर्माणमा पुराना व्यवसायीहरुलाई प्राथमिकता दिने सहमति भएपनि नगरपालिका अहिले त्यो सहमतिबाट पछि हटेको बताए ।
सुर्खेत वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले मनोमानी तरिकाले सटरको मुल्य तोक्नु व्यवसायी र उपभोक्ताको हितविपरित रहेको बताए । वीरेन्द्रनगर नगरपालिका सामाजिक दायित्वबाट पटि हटेको भन्दै यसले सम्रग बजार क्षेत्रमा पनि प्रभाव पार्ने उनले बताए ।
नगर विकास कोषको ऋण सहयोगमा पाँच बर्षमा अत्याधुनिक संरचनासहितको सिटी बसपार्कको निर्माण गरिएको भएपनि अहिले उक्त बसपार्क सञ्चालनमा आईसकेको छैन । करिब ४ हजार ५०० वर्गमिटर क्षेत्रफमा रहेको बसपार्कमा साना–ठूला गरी १२० वटा बस अटाउन सक्ने क्षमता छ ।