शुक्रबार, जेष्ठ ४, २०८१

सुर्खेतमा डेंगी संक्रमण उच्च, सबैभन्दा धेरै संक्रमित वीरेन्द्रनगरमा

प्रभावकारी भएन वीरेन्द्रनगरको डेंगी नियन्त्रण अभियान

  
कर्णाली टाइम्स बिहीबार, कार्तिक २७, २०७७


सुर्खेत, । सुर्खेतमा डेंगी संक्रमणको दर उच्च रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै डेंगी संक्रमण सुर्खेतमा छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार हालसम्म सुर्खेतका मात्र ५१४ जनामा डेंगी संक्रमण देखिएको छ ।
विशेषगरी कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा डेंगीका बिरामी धेरै देखिएका छन् । वीरेन्द्रनगरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा आउने धेरैजसो बिरामीहरुमा डेंगी संक्रमण देखिने गरेको छ । कर्णाली प्रदेश अस्पतालका अनुसार अस्पतालमा दैनिक २–३ जनासम्म डेंगी संक्रमितहरु भर्ना हुने गरेका छन् । भर्ना गर्नैपर्ने खालका डेंगी संक्रमितहरुलाई मात्र भर्ना गर्दा यो दर देखिएको अस्पतालले जनाएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार यो बर्षको ४ महिनामै अघिल्लो बर्षको भन्दा चार गुणा धेरै डेंगीबाट संक्रमित भएका छन् । गत आर्थिक बर्ष सुर्खेतका १३४ जनामा मात्र डेंगी देखिएको थियो ।
यो बर्ष (बिहिवारसम्म) सुर्खेतका ५१४ जनामा डेंगी संक्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको किटजन्य रोग नियन्त्रण सुपरभाईजर उदय बिसीले जानकारी दिए । उनका अनुसार सुर्खेतमा संक्रमण पुष्टी भएकामध्ये ९ जना अरु जिल्लाका छन् । जसमा दैलेखका ६ जना, जुम्ला हुम्ला र सिराहका एक/एक जना छन् ।
डेंगीका संक्रमण दर धेरै रहेको सुर्खेतमा पनि सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकाका रहेको उनले जानकारी दिए । यो बर्ष वीरेन्द्रनगरका ४९४ जनामा डेंगी संक्रमण देखिएको छ । त्यसमा पनि सबैभन्दा धेरै वडा नम्बर ६ का १९० जना छन् ।
बाँकी वडाहरुमा १ मा १० जना, वडा नम्बर २ मा १८, ३ मा ५१, ४ मा ३७, ५ मा ११, ६ ७ मा ३५, ८ मा ३६, ९ मा २५, १० मा ३५, ११ मा १९, १२ मा १७, १३ मा ७, १४ मा १, १५ मा २ जना डेंगी संक्रमित छन् ।
यस्तै भेरीगंगा नगरपालिकामा २ जना, गुर्भाकोट नगरापकिामा एक जना, चिङ्गाड गाउँपालिकामा २ जना, पञ्चपुरी नगरपालिकामा ६, लेकवेशी नगरपालिकामा ७, बराहताल गाउँपालिकामा २ जनामा डेंगी संक्रमण देखिएको छ ।
सफा पानीमा बस्ने एडिज प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण ग्रामीण भन्दा पनि शहरी क्षेत्रमा धेरै फैलिने गरेको थापाले बताए । उनका अनुसार पछिल्ला महिनाहरु असोज र कात्तिकमा डेंगी संक्रमण धेरै देखिएको छ ।
प्रभावकारी भएन नियन्त्रण अभियान
कर्णाली प्रदेशमा सबैभन्दा धेरै डेंगी संक्रमण फैलिएको स्थानीय तहका रुपमा वीरेन्द्रनगर हो । डेंगी सार्ने लामखुट्टे ग्रामीण भन्दा शहरी क्षेत्रमा धेरै हुने भएकाले पनि वीरेन्द्रनगरमा यसको संक्रमण धेरै देखिएको हो ।
जनस्वास्थ्य सेवा कार्यालयसँगको समन्वयमा डेंगी नियन्त्रण गर्न वीरेन्द्रनगरमा अभियान थालिएको छ । जनचेतना जगाउने, एडिज प्रजाति (डेंगी सार्ने) लामखुट्टेको लार्भा खोज्ने तथा नष्ट गर्ने जस्ता कार्य गर्न सुरु गरिएको अभियान खासै प्रभावकारी नभएको वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य शाखाका पर्शुराम खड्काले बताए ।
‘मानिसलाई डेंगी संक्रमणसम्बन्धी सचेत बनाउने, औषधी छर्ने गरी जनस्वास्थ्यसँगको समन्वयमा हामीले काम गरिरहेका छौं, तर प्रभावकारी देखिएको छैन,’ उनले भने, ‘पहिलेको तुलनामा केही सरसफाई भएपनि सोचे अनुसारको परिवर्तन भएको छैन, यसमा जनप्रतिनिधीलाई पनि बढी सक्रीय बनाएर जानुपर्ने देखिन्छ ।’
नगरपालिकाको उपमेयर मोहनमाया ढकालले वडावडामा औषधि छर्ने काम भईरहेको बताईन् । डेंगी नियन्त्रणका लागि स्थानीय तहले सम्बन्धित निकायसँग समन्वय गरी काम गरिएको उनले बताईन् ।