बुधबार, बैशाख १९, २०८१

बुलबुलेको स्वरूप फेरिँदै (तस्विरहरू)

  
कर्णाली टाइम्स शनिबार, पुस ११, २०७७

सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीय स्थलमध्येको बुलबुले उद्यानको स्वरूप फेरिँदै गएको छ । बुलबुले ताल विस्तारसँगै अन्य भौतिक संरचना निर्माणपछि अहिले उद्यान पहिलेभन्दा फरक स्वरूपमा उभिएको छ ।

११ हजार वर्गमिटर रहेको उक्त ताललाई अहिले विस्तार गरी २८ हजार वर्गमिटर बनाइएको छ । प्राकृतिक रूपमा बनेको तालको आकार सानो थियो। सानो ताल अव्यवस्थित भएपछि त्यसलाई विस्तार गरिएको हो । २ करोड लागतमा ताल विस्तार तथा सोलार बत्ती जडान गरिएको छ ।

अहिले सरकारले उद्यान व्यवस्थापनका लागि थप ५५ लाख रुपैयाँ छुट्याएको र त्यसबाट तालको वरिपरी बार लगाइने कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयका जलाधार व्यवस्थापन अधिकृत शेखर चपाइँले बताए । ‘तालको त विस्तार भयो, अब वरिपरि बालबालिका खस्न सक्ने भएकाले रेलिङ पनि लगाउने कुरा भएको छ,’ उनले भने, ‘सरकारले बजेट छुट्याएको छ, टेण्डर भने भइसकेको छैन ।’

यस्तै गत वर्ष बुलबुले ताल छेउको खोलाले कटान गर्ने सम्भावित भागमा ८८ लाख लागतमा छेकबार लागाइएको उनले बताए । उद्यानभित्र रहेको जीर्ण सार्वजनिक शौचालयलाई अहिले व्यवस्थित बनाएको छ ।

त्यस्तै उद्यान वरपरको तारबार हटाएर आकर्षक पर्खाल निर्माण गरिएको छ । संघीय आयोजना कार्यान्वयन ईकाइले उक्त शौचालय, उद्यान वरपरको पर्खाल, मुख्य गेट निर्माण लगायतका भौतिक संरचना निर्माण गरेको हो । बुलबुले उद्यान अहिले सम्बन्धित स्थानीय तहको मातहतमा आएको छ । बुलबुलेलाई अझ आकर्षक पर्यटकीय स्थलका रूपमा विस्तार गर्न नगरपालिकाले पनि आफ्नो तर्फबाट पहल गरिरहेको छ ।

‘सुर्खेतमा घुम्न जाने भन्नेवित्तिकै मानिसको पहिलो गन्तव्य बुलबुले भएकाले यसको थप विकासका लागि पहल गरेका थियौं,’  वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले भनिन्, ‘यसको थप विकासका लागि पनि धेरै काम बाँकी छ, हामीले पहल गरिरहेकै छौं ।’

जलाधार व्यवस्थापन अधिकृत चपाइँका अनुसार तालको छेउबाट पानी चुहिने भएकाले हिउँदामा ताल नभरिने समस्या छ । त्यसलाई एक महिनाभित्रमा मर्मत गरी पानी भर्ने र डुंगा समेत सञ्चालन गरिने उनले बताए ।

सेतोपाटीबाट