शुक्रबार, जेष्ठ ४, २०८१

प्रचण्ड–नेपाल समूहका नेताको टिप्पणी, ‘प्रधानमन्त्री प्रतिगमनका मतियार बने’

  
कर्णाली टाइम्स सोमवार, पुस १३, २०७७

सुर्खेत । प्रधानमन्त्रीको असंवैधानिक संसद् विघटनका विरुद्ध प्रचण्ड–नेपाल समूहको देशभर हुने प्रदर्शनलाई सम्बोधन गर्न कर्णालीमा आएका नेताहरुले केपी शर्मा ओलीको टिप्पणी गरेका छन् । भोली हुने प्रदर्शनलाई सम्बोधन गर्न आइतबार सुर्खेत आईपुगेका केन्द्रीय सदस्यहरुले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ‘प्रतिगमनका मतियार’ भएको टिप्पणी गरेका हुन् ।
केन्द्रीय सदस्य विष्णु रिजालले विगतमा भएका संसद् विघटनका घटनाले गलत नतिजा निकालेको बताउँदै अहिलेको प्रधामन्त्रीको यो कदमले पनि नतिजा राम्रो नहुने बताए । उनले संविधानको उल्लंघन गर्दै ओलीले प्रतिनिधी सभा विघटन गरेको बताए ।
‘पार्टीभित्र केही आन्तरिक सस्याहरु हुन सक्छन्, ति समस्याबारे कुनै छलफल नगरेरै यो कदम चाल्नु संविधानको ठाडो उल्लंघन हो,’ उनले भने, ‘यो कदम चाल्दै गर्दा प्रधानमन्त्री ओली प्रतिगमनको मतियारका रुपमा उभिएका छन् ।’
अर्का केन्द्रीय सदस्य निरज आचार्यले संसद्लाई जानकारी नदिएर नै प्रतिनिधि सभा विघटन गरेपछि पार्टीले ओलीलाई कारबाही गरेको बताए । पार्टीभित्र काम गर्न नदिएको भएर संसद् विघटन गरेँ भन्नु प्रधानमन्त्रीको भ्रम फैलाउने षड्यन्त्र भएको आचार्यले बताए ।
उनले ओलीको असंवैधानिक कदमका कारण नेकपा जटील मोडमा पुगेको बताए । ‘पार्टी भित्रका समस्यालाई सम्बोधन गर्न छलफल नै नगरी संसद् विघटन गरियो, यसले नेकपा नै जटील मोडमा पुगेको छ,’ आचार्यले भने, ‘केपी ओलीले अक्षम्य गल्ती गर्नुभयो, यसलाई पार्टी र जनताले माफी दिन मिल्दैन ।’
उनले प्रधानमन्त्री ओलीले ताजा जनादेश बहाना बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षड्यन्त्रका साथ संसद् विघटनको कदम चालेको आरोप लगाए । आफ्ना मान्छेहरु परिचालन गरेर जनतामाझ ओलीले भ्रम फैलाउन खोजेको भन्दै आचार्यले ओलीका पछिल्ला अभिव्यक्ति पनि गणतन्त्रका विरोधी भएको बताए ।
उनले विधानको आधारमा नेकपाको चुनाव चिन्ह, झण्डासहितको आधिकारिकता प्रचण्ड–नेपाल समूहले पाउने दावी समेत गरेका छन् । ‘विधान अनुसार बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ, हाम्रो समूहमा धेरै नेता कार्यकर्ता भएकाले पनि ओलीको पार्टी आधिकारिक हुने सम्भावना हुँदैन ।’ उनले भने ।
संघीय गणतन्त्रको रक्षकका रुपमा जनताले नेकपालाई मत दिएपनि प्रधानमन्त्रीको कदमका कारण नेकपाभित्रकै अर्को समूह गणतन्त्रको रक्षाका लागि लड्नुपरेको उनले बताए । केन्द्रीय सदस्य आचार्यले सत्तामा पुगेको ‘गलत व्यक्ति’ भनेका छन् ।
‘ओलीको पछिल्लो असंवैधानिक कदमका कारण अहिले हामी आफैं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि लड्नुपरेको छ, गलत व्यक्ति सत्तामा पुग्यो भने यो अवस्था आउने रहेछ भन्ने थाह भयो ।’ आचार्यले भने ।
विदेश विभाग उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य रिजालले नेकपाको आन्तरिक मामिलामा चिनियाँ कम्युनिष्ट टोलीको प्रभाव नरहने दावी गरेका छन् । आफ्नो निर्णय र गतिविधि गर्न स्वतन्त्रता रहेको भन्दै उनले चिनियाँ टोलीको प्रभाव नेकपाको आन्तरिक मामिलामा नपर्ने उनले बताए ।