शनिबार, कार्तिक १०, २०८१

मध्यावधि चुनावले देशलाई फेरि स्थायित्व दिन्छ : मन्त्री थापा

  
कर्णाली टाइम्स मंगलबार, पुस २१, २०७७

सुर्खेत । खानेपानी मन्त्री मणिचन्द्र थापाले सरकारले वैशाखमा घोषणा गरेको मध्यावधि चुनाले देशलाई फेरि स्थायित्व दिने बताएका छन् । ओली समूहको जाजरकोटमा आज आयोजित भेलालाई सम्बोधन गर्न आएका मन्त्री थापाले सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीको कदम अग्रगामी भएको बताए ।
प्रधानमन्त्री केपी शार्मा ओलीले गरेको संसद् विघटन र चुनाव घोषणा देशको राजनीतिक स्थायित्वकै लागि भएको उनले दावी गरे । देशले ताजा जनमतको माग गरेको बताउँदै उनले जनामाझ चुनावमा जानुका विकल्प अब नरहेको बताए ।
‘हामी मात्र होईन जनतामाझ चुनावमा जानुको अब कुनै विकल्प छैन,’ मन्त्री थापाले भने, ‘राजनीतिको सिद्धान्तले पनि सरकार वा प्रणाली संकटमा प¥यो भने जनतामाझ जानुपर्छ भन्छ, अहिले सरकारले चालेको कदम अग्रगामी छ ।’
प्रधामन्त्रीले गरेको असंवैधानिक संसद् विघटनपछि विभाजनको बाटोमा हिँडेको नेकपाको विषयमा मन्त्री थापाले पार्टी विभाजन नहुने दावी गरे । आगामी निर्वाचनमा जानेगरी अहिलेका अलग–अलग समूह एकताबद्ध हुने उनले दावी गरे ।
‘हाम्रो पाटी विधिवित रुपमा फुटेको होईन, आगामी निर्वाचनमा हामी एक भएर जनतामाझ जान्छौं,’ मन्त्री थापाले भने ।
ओली समूहद्वारा अहिले नेता तथा कार्यकर्ताहरुलाई प्रदेशमा दिईएको जिम्मेवारी अनौपचारिक भएको बताए । ओली समूहमा कर्णाली प्रदेशको ईञ्चार्जको समेत जिम्मेवारी पाएका मन्त्री थापाले आफ्नै भूमिका समेत अमूर्त रहेको बताए ।
‘अहिले पार्टीमा निम्तिएको संकटपूर्ण अवस्थालाई मध्यनजर गरेर व्यवस्थापन गर्न मलाई यो जिम्मेवारी दिईएको हो,’ मन्त्री थापाले भने, ‘अहिलेलाई मलाई ईञ्चार्ज भन्दा पनि संयोजन गर्ने काम दिईएको हो ।’
प्रदेश तहमा सरकार फेरबदलको बारेमा कुनै छलफल नै नभएको पनि मन्त्री थापाले बताए । ‘यदि प्रधामन्त्री ओलीले पार्टी फुटेको घोषणा गर्नुभयो भने के हुन्छ, तर प्रदेश सरकारबारे अहिले नै केही भन्न सकिँदैन ।’ उनले भने ।
प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्दा प्रचण्ड–नेपाल समूहका केही मन्त्रीहरुले राजीनामा दिएपछि विस्तार गरिएको मन्त्रिपरिषद्मा थापाले खानेपानी मन्त्रीको जिम्मेवार पाएका छन् ।