शनिबार, बैशाख २२, २०८१

मध्यावधि चुनावले देशमा झन अस्थिरता निम्त्याउँछ : मुख्यमन्त्री शाही

  
कर्णाली टाइम्स मंगलबार, पुस २८, २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रधामन्त्रीले तोकेको मध्यावधि चुनावले देशमा अस्थिरता निम्तयाउने बताएका छन् । मंगलबार नियमित पत्रकार सम्मेलमा बोल्दै मुख्यमन्त्री शाहीले संसद् विघटन गरेर तोकिएको मध्यावधि चुनावबाट समस्या समाधान नहुने बताए ।
‘चुनाव भईहाले पनि यो अवस्थामा स्पष्ट बहुमत कसैको आउँदैन,’ उनले भने, ‘यसो भयो भने देशमा झन् अस्थिरता आउँछ, प्रधामन्त्री फेरिने काम मात्र हुन्छ ।’ जनताले चुनावप्रति विश्वास नगर्ने बताउँदै उनले आफ्नो समस्या समाधानका लागि चुनावमा जान खोज्नु प्रधामन्त्री ओलीको कमजोरी रहेको बताए ।
मुख्यमन्त्री शाहीले प्रधामन्त्रीले गरेको संसद् विघटन असंवैधानि भएको बताए । यो निर्णय प्रधामन्त्रीले फिर्ता लिनु नै सिंगो मुलुकको हित हुने उनले बताए ।
उनले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सच्याउने काम न्यायालयको भएको बताए । ‘अब यसमा न्यायालयले निष्पक्ष निर्णय गर्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘न्यायालयले यस्तो दुर्घटनाबाट देशलाई रोक्छ भन्ने आशा गरिएको छ ।’
उनले नेकपा विभाजित नभएको दावी गरे । ‘अझ पनि पार्टी विभाजन भएको छैन, देशको हितका लागि सोच्ने हो भने अझ पनि एकता गर्नु आवश्यक छ ।’ उनले भने । उनले पार्टी फुट्नुलाई सहज रुपमा लिने बताए ।
अहिलेको प्रधामन्त्रीको असंवैधानिक कदमले देशलाई १० बर्षपछि धकेलेको मुख्यमन्त्री शाहीले बताए । ‘जनताले जुन अपेक्षाका साथ नेकपालाई बहुमत दिएका थिए, उनीहरुको अपेक्षा अब देशमा कायापलट हुन्छ भन्ने थियो,’ मुख्यमन्त्री शाहीले भने, ‘अहिले प्रधानमन्त्रीको कदमले पार्टीभित्र भुइँचालो आएको छ, यसले गर्दा देशको विकासलाई पनि १० बर्ष पछि धकेलेको छ ।’
उनले प्रदेश सरकार अल्पमतमा रहेर चलाएको जस्तो भएको बताएका छन् । ‘कर्णालीमा विभिन्न समस्या छन्, यसले गर्दा संसद्मा बहुमत हुँदा पनि अल्पमतको सरकार चलाएको जस्तो भईरहेको छ ।’ उनले भने ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारलाई अगाडि आएर केही तत्वहरुले बार हालेर काम गर्न समस्या पारेको बताए । ‘कर्णाली बनाउन हामी नै एकताबद्ध भएर जाने हो,’ उनले भने, ‘तर पनि सरकारलाई अगाडि आएर बार हालेर काम गर्न गाह्रो बनाईएको छ, यसका बावजुत पति सरककारले तिब्रताका साथ काम अगाढि बढाईरहेकै छ ।’
मन्त्रिमण्डले हेरफेरको संकेत
मुख्यमन्त्री शाहीले केही समयमा कर्णाली प्रदेशको मन्त्रीमण्डल परिवर्तनको पनि संकेत दिएका छन् । ‘मन्त्रिपरिषद् हेरफेर हुन्छ, तर अहिले नै ठ्याक्कै यही दिन र यही मन्त्रालय भन्न सकिँदैन ।’ उनले भने । मन्त्रालय थप नगर्ने र अहिले भएकै मन्त्रालयमा परिवर्तन गर्ने उनले बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पनि आफैं सम्हाली रहेका मुख्यमन्त्री शाहीले त्यहाँ अर्कोलाई जिम्मेवारी दिने संकेत गरेका छन् । तत्कालीन भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीलाई बंैकिङ् कसुरमा बर्खास्त गरेपछि मुख्यमन्त्री आफैंले उक्त मन्त्रालय सम्हालीरहेका छन् ।